भदौ २८, सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकालाई थुनामै राखेर पुर्पक्ष गर्ने मोरङ जिल्ला अदालतको आदेशलाई उच्च अदालत विराटनगरले सदर गरेको छ ।
बुधवार भएको बहस पछि उच्च अदालत विराटनगरको पाँच नम्बर इजलासले लाक्पा शेर्पालाई पुर्पक्षका लागि जिल्ला अदालत मोरङको ०७५ जेठ ८ गते गरेको आदेश बेरितको नदेखिएकोले परिवर्तन गर्नु नपर्ने आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायण प्रसाद रेग्मीले जानकारी दिए ।
मंगलबार पनि दुई नम्बर इजलाशले तुलाराम थारुलाई सोही प्रकृतिको आदेश भएको थियो । बुधवार २६ जनाको पेशी राखिएकोमा २४ जनाका सम्बन्धित पक्षका वकिलहरुले पेशी स्थगित गराएका थिए ।
कानुनी प्रावधान अनुसार एउटा पक्षले दुई पटक सम्म पेशी स्थगित गराउन पाउने नियम भएपनि सुन तस्करी प्रकरणमा दर्जनौ पटक पेशी स्थगित हुने गरेको छ । पटक पटक पेशी स्थगित हुने गरेकाले उच्च अदालत विराटनगरले यस साताका लागि आइतवार देखि शुक्रवार सम्म दैनिक पेशी राख्ने गरेको छ ।
Comments are closed.