भदौ २८, बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिन भन्दै बिहिबार कञ्चनपुरको महेन्द्रनगर बजारमा थाल ठटाएर विरोध प्रदर्शन भएको छ ।
पन्तका हत्यारालाई तत्काल सार्वजनिक गर्न माग गर्दै दबाब स्वरुप महेन्द्रनगर बजारमा थाल बजाउँदै विरोध प्रदर्शन गरिएको छ । खाना खाने थाल र चम्चासहित सडकमा उत्रेका महिलाले घटना घटेको झन्डै २ महिना बित्न लाग्दासम्म वास्तविक हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना गरे ।
१ नम्बर गल्लीबाट निस्किएको विरोध र्याली महेन्द्रनगर बजारको परिक्रमा गर्दै मदनचोकमा गएर धर्नामा परिणत भएको थियो । न्यायका लागि गठित दबाबमूलक संघर्ष समितिले घटनाको लामो समय भइसक्दा पनि हत्यारा पत्ता नलागेपछि शान्तिपूर्ण आन्दोलनलाई फेरि निरन्तरता दिएको जनाएको छ ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग उनीहरुले गरेका छन् ।
भीमदत्त नगरपालिका–२, खोल्टीकी पन्त गत साउन १० गते घरबाट साथीको घर जान निस्किएकी थिइन् । त्यसपछि आफ्नो घर नफर्किएकी उनको शव हत्या गरेर फालिएको अवस्थामा साउन ११ गते स्थानीय उखुबारीमा फेला परेको थियो ।
Comments are closed.