फाल्गुन १, २०७४ -महाशिवरात्री पर्व आराध्यदेव शिवको पूजा आराधना गरी मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी फागुनकृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा बिहानैदेखि नदी, तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजा आराधना गर्नेको भीड लागेको छ ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री , मोहरात्री , सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्येको एक पवित्र पर्वका रूपमा शिव पुराणमा उल्लेख छ । व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन व्रत तथा रातभर जाग्राम बसेमा सिद्धि प्राप्त हुने धार्मिक विश्वास छ । यसैबीच आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सव गर्ने गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भाग लगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ । पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यसैबीच शिवरात्रीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनका सिलसिलामा स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफलापूर्वक सम्पन्न भई मुलुक सामाजिक तथा आर्थिक समृद्धितर्फ उन्मुख भएको बताउँदै यस पर्वले एकता र मुलुकको चौतर्फी समृद्धिमा अग्रसर हुने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले सांस्कृतिक पर्वले नेपालीबीचको सम्बन्धलाई प्रगाढ बनाई आपसी भाइचारा अभिवृद्धि गर्ने बताउनुभएको छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिदै नेपालीबीच बढ्ने आपसी विश्वास, सहमति र सहकार्यले मुलुकको समृद्धिमा प्रेरणा दिने उल्लेख गर्नुभएको छ ।
साभार इकान्तिपुर
Comments are closed.