Nepal's First Video FM

आज संविधान जारी भएको तिन वर्ष पुरा, राजधानी टुंडिखेलमा विशेष समारोह

605

असोज ३, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको आज तीन वर्ष पूरा भएको छ । २०७२ असोज ३ गते दोस्रो संविधानसभाका ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको थियो ।

यसबीचमा स्थानीय तह, प्रदेश र संघको निर्वाचन सम्पन्न भएका छन् । अहिले ७ सय ५३ स्थानीय, सात प्रदेश र संघीय गरी मुलुकमा ७ सय ६१ सरकार क्रियाशील रहेका छन् ।

सातवटै प्रदेशमा प्रदेश सभा तथा संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभा गठन भई काम अघि बढिसकेको छ । संविधान अनुसार प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ गरी संघीय संसद्मा ३ सय ३४ र सातवटै प्रदेशमा कुल ५ सय ५० सांसद निर्वा्चित भएका छन् ।

काठमाडौंको टुंडिखेलमा विशेष समारोह

आज संविधान दिवश नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा आज दिवस मनाइँदैछ । दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले अहिले केहीबेरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दैछ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी प्रदर्शन, काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा रोचक कार्यक्रम प्रस्तुत गरिनाका साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन हुने कार्यक्रम छ ।

त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गरिने मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहमा सरसफाइ, प्रभातफेरी, खेलकुद, प्रवचन गोष्ठी, साहित्यिक गोष्ठी, साँस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी गरिनुका साथै असोज २, ३ र ४ गते दीपावली गरिने छ ।

You might also like

Comments are closed.