Nepal's First Video FM

किन रहन्छ बाग्लुङको १५ हजार हेक्टर जमिन बाँझो

891

फाल्गुन २, बागलुङमा कुल खेतीयोग्य जमिनमध्ये १५ हजार ६ सय ७२ हेक्टर जमिन बाँझो रहेको छ । जिल्लाको १ लाख ८२ हजार ७६६ हेक्टर जमिनमध्ये ४६ हजार १४८ हेक्टर जमिनमा खाद्यान्न उत्पादन गर्न सकिने भएता पनि अहिले ३० हजार ४७६ हेक्टर जमिनमा मात्र खाद्यान्न उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ ।

युवाहरू विदेश पलायन र कृषि जनशक्तिको अभावले जमिन बाँझो हुने क्रम बढ्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यका अनुसार युवाहरू वैदेशिक रोजगारीमा जाने र गाउँमा वृद्धा भएका आमाबाबु मात्र हुने गरेकाले खाद्यान्न उत्पादनमा कमी आएको हो ।

युवाहरू रोजगारीको सिलसिलामा विदेश जाने र गाउँमा रहेका बुहारीहरू पनि सहर पस्ने चलन बढ्दो रहेको उल्लेख गर्दै अधिकृत आचार्यले युवाहरू विदेश जाँदा गाउँमा रहेका ज्येष्ठ नागरिकहरूले काम गर्न नसक्नुले जमिन बाँझो रहन पुगेको बताए । जिल्लामा खाद्यान्न उत्पादन कमी हुनुमा जमिन बाँझो मात्र नभएर सिँचाइको कमी पनि रहेको छ ।

अहिले बागलुङमा उत्पादनयोग्य जमिनमध्ये १९ प्रतिशत जमिनमा मात्र सिँचाइ पुगेको छ । खाद्यान्न उत्पादित ५ हजार ९७४ हेक्टर जमिनमा मात्र सिँचाइ पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

युवा विदेश पलायन र कृषि जनशक्तिको अभावले जमिन बा“झो हुने क्रम बढ्दो अवस्थामा

बागलुङ पहाडी जिल्ला भएको र खाद्यान्न उत्पादन जमिन डाँडामा रहेको र सिँचाइका लागि पानी तल हुने गरेका कारण सिँचाइ नपुगेको वरिष्ठ कृषि विकास अधिकारी आचार्यको भनाइ रहेको छ ।

सिँचाइका लागि खोलाको पानी खाद्यान्न उत्पादित हुने जमिनसम्म पु¥याउनका लागि स्रोतसाधनको कमी रहेको जानकारी दिँदै आचार्यले स्रोतसाधन नहुनाले नै पर्याप्त मात्रमा सिँचाइ गर्न नसकिएको बताए । जिल्लामा अहिले १ लाख १ हजार ५१ मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ । अहिले सबैले बिहान र बेलुका भात नै खाने गरेका कारण खाद्यान्न अभाव हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्ला उत्पादन हुने मुख्य खाद्यान्न भनेको मकै, गहुँ, कोदो हो तर अहिले धान र पिठोको बढी प्रयोग हुने गरेकाले जिल्लामा उत्पादन हुने खाद्यान्न अपुग हुने गरेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत सुजित पौडेलले बताए ।

बागलुङ जिल्लामा उत्पादन हुने मुख्य बाली नै मकै, गहुँ, कोदो भएको उल्लेख गर्दैै अधिकृत पौडेलले अहिले मकै, गहुँ, कोदोको कम प्रयोग गर्ने र धानको बढी प्रयोग गर्ने गरेका कारण खाद्यान्न अपुग हुने गरेको बताए । बागलुङमा धान बढी आयात हुने गरेता पनि मकै, कोदो, गहुँ भने निर्यात हुँदै आएको छ ।

अहिले बागलुङ जिल्लाबाट मकैको बीउ छिमेकी जिल्ला पर्वत, म्याग्दी, गुल्मी, रुकुमलगायतमा निर्यात हुँदै आएको छ । जिल्लामा आउनका लागि एउटा मात्रै नाका नरहेकाले खाद्यान्न कति आयात र निर्यात हुन्छ भनेर विवरण संकलन गर्न नसकिएको पौडेलले बताए । बागलुङमा धान र पिठो नेपालको तराई क्षेत्र तथा भारतबाट नै आयात हुने गरेको छ ।

वीन शिशिर

You might also like

Comments are closed.