Nepal's First Video FM

ओली र प्रचण्डले धोका दिएको भन्दै माधव नेपालले बोलाए स्थायी कमिटी

605

असोज १२, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीका पदाधिकारी चयनसम्बन्धी निर्णयमा असहमति जनाउँदै स्थायी कमिटी सदस्यहरुको राय संकलन गर्ने भएका छन् । पार्टीको कार्यवाहक अध्यक्षसमेत कसैलाई नदिई दुबै अध्यक्ष विदेश भ्रमणमा रहेका बेला नेता नेपालले सचिवालयको पछिल्लो निर्णय अश्वीकार गरेका छन् ।

नेपालले शुक्रबार अपरान्ह बानेश्वरमा स्थायी कमिटी सदस्यहरुलाई छलफलका लागि बोलाएका छन् । आफूसँग भएको सहमति विपरीत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकबाट एकलौटी निर्णय गरेको भन्दै नेपालले सो निर्णय कार्यान्वयन गर्न नहुने अडान राखेका छन् ।
नेपाल अफ्रिका भ्रमणमा रहेका बेला ७ प्रदेशका २८ जना इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरु चयन भएका थिए । सो निर्णय परिपत्रमार्फत कार्यान्वयनमा समेत पठाइसकिएको छ ।

नेता नेपालले भने सो निर्णय पार्टीको विधान विपरीत भएको भन्दै अनौपचारिक छलफलका लागि स्थायी कमिटीका सदस्यहरुलाई बोलाएका हुन् । आफू तथा नारायणकाजी श्रेष्ठलाई झुक्याएर निर्णय गरिएको भन्दै स्थायी कमिटी सदस्यहरुलाई उनले यसबारे औपचारिक जानकारी दिन लागेको स्रोतले बतायो । नेता नेपालले स्थायी कमिटीका सदस्यहरुलाई आन्तरिक छलफलका लागि बोलाएको केन्द्रीय सदस्य विष्णु रिजालले पुष्टि गरे ।

नेपालले आफू विदेश जानुअघि दुबै अध्यक्षसँग सल्लाह गर्दा प्रदेश कमिटीबारे सचिवालयले प्रस्ताव तयार गर्ने र स्थायी कमिटीबाट प्रदेश कमिटी गठन गर्ने सहमति भएको बताएका छन् । सचिवालयबाट निर्णय हुँदा चीनमा रहेका नारायणकाजी श्रेष्ठले विदेश जानुअघि प्रदेश कमिटीका बारेमा निर्णय गर्ने हो भने आफ्नो विदेश भ्रमण रोक्ने जानकारी दुवै अध्यक्षलाई गराएका थिए । तर, श्रेष्ठलाई अहिले निर्णय नहुने अध्यक्षद्वयले बताएका थिए ।

दुवै अध्यक्षबाट धोकापूर्ण ढंगले काम भएको भन्दै नेपालले स्थायी कमिटी सदस्यहरुसँग आफ्नो असहमति राख्न लागेको नेकपाका एक नेताले बताए । स्थायी कमिटीको अधिकार खोसेर विधान विपरीत सचिवालयमार्फत दुई अध्यक्षले आफूखुसी गर्न थालेको आरोप नेपालको छ ।
online khabar

You might also like

Comments are closed.