Nepal's First Video FM

२ नं प्रदेशको सभामुखमा सरोजकुमार यादव निर्विरोध निर्वाचित

718

फागुन २, प्रदेश नं २ को प्रदेशसभाको सभामुखमा राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभाको पहिलो अधिवेशन अन्तर्गत मङ्गलबार भएको तेस्रो बैठकमा सो जानकारी दिइएको हो ।

निर्धारित समयभन्दा ४५ मिनेट ढिलो शुरू भएको बैठकमा अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य लगनलाल चौधरीले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ र नेपालको संविधानको धारा १८२ को उपधारा (३) उपदफा (२) बमोजिम प्रस्तावको सूचना एउटा मात्र प्राप्त भएको जनाउदै यादवलाई निर्विरोध घोषणा गरेको थियो ।

बैठक १ः४५ देखि १ः५५ सम्म बसेको थियो । बैठकमा ज्येष्ठ सदस्य चौधरीले सभामुखको निर्वाचनको प्रस्तावका लागि प्रदेशसभा सदस्य एंव राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता जीतेन्द्रप्रसाद सोनारलाई अनुमति दिएपछि उनले यादवलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे, भने संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउतले सो प्रस्तावको समर्थन गरेको थियो ।

बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि,२०७४को दफा ७ को उप दफा (१) बमोजिम प्रदेशसभाको उपसभामुखको निर्वाचन यही फागुन ४ गते निर्धारण गरेको छ । प्रदेशसभाको अर्को बैठक यही फागुन ४ गते दिउँसो १ः०० बजे बस्ने छ ।

निर्विरोध निर्वाचित भएका सभामुख यादवले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सबैको सहयोग लिई कार्य सम्पादनलाई प्रभावकारी बनाउने बताए ।

आफू निष्पक्ष, कानूनसम्मत् ढंगले कार्य गर्ने बताउदै उहाँले प्रदेशलाई समृद्ध बनाउने अभियानमा सबै पक्षको अग्रसरतामा जोड दिए । स्थायी राजधानीका बारेमा सभाले यथाशीध्र निर्णय गर्ने विश्वास समेत व्यक्त गरे । रासस

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.