नेपाली कामदारको मुख्य गन्तव्य मानिएको मलेसिया रोजगार खुलाउन नेपाल सरकार र मलेसियाबीच सहमति भएकोे छ । मलेसियाको पुत्राजयमा शुक्रबार भएको द्विपक्षीय वार्तामा उच्च अधिकारीबीच बन्द अवस्थामा रहेको मलेसिया रोजगार खुला गर्ने लिखित सहमति भएको छ ।
मलेसियाका राजदूत कुमारराज खरेलले छलफलका क्रममा नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको जानकारी दिए । ‘मस्यौदालाई अन्तिम रुप दिँदै वार्ता उत्साहपूर्ण रूपमा सफल भयो’, उनले भने । मलेसिया नेपाली कामदारका लागि मुख्य गन्तव्य भए पनि कामदार जान थालेको १७ वर्षसम्म श्रम सम्झौता हुन सकेको थिएन । नेपालले पटकपटक श्रम सम्झौताका लागि पहल गरे पनि मलेसियालाले आनाकानी गर्दै आएको थियो ।
छलफलका क्रममा कामदारको हकहित र सुरक्षाका विषयमा दुवै देशका चासोका विषय सम्बोधन भएको राजदूत खरेलले बताए । नेपालको मुख्य चासोको रूपमा रहेको नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै लागत मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति भएको छ । दुवै पक्षले आन्तरिक प्रक्रिया पूरा गरेपछि कूटनीतिक माध्यमबाट हस्ताक्षरको मिति तत्कालै तय गरी सम्झौता हुनेछ । आन्तरिक तयारीपश्चात मलेसियनमन्त्री नेपाल आएर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टसँग सम्झौता हुने खरेलले जानकारी दिए ।
Annapurna Post
Comments are closed.