Nepal's First Video FM

ललितपुरका सडकमा ‘स्मार्ट’ बत्ती !

716

२२ असोज, ललितपुर । रातको समयमा सडक दुर्घटनामा पर्नुभएको छ ? अँध्यारोमा सवारी चलाउँदा तपाई सवारीको बत्ती बिग्रिएर हैरान हुनुभएको पनि हुनसक्छ । अर्कातर्फबाट आएको सवारीको बत्ती धेरै चहकिलो हुँदा आँखा नै तिरीमिरी भएर पनि तपाईलाई गाह्रो भएको हुन सक्छ ।

यदि तपाई रातको समयमा दैनिक पैदलयात्रा गर्नुहुन्छ भने अँध्यारोले गर्दा असुरक्षित महसुस गरिरहनुभएको होला । त्यसो हो भने पनि ढुक्क हुनुहोस्, ललितपुर महानगरपालिकाको मुख्य सडक छिट्टै झलमल्ल हुँदैछ । महानगरपालिकाले सवारी आगमन बढी हुने सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्दैछ ।सडकका खम्बामा ‘स्मार्ट’ बत्ती जडानपछि आवश्यक मात्रामा बत्ती बल्ने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउँछन् । सडकका दुवैतर्फका खम्बामा बत्ती जडान हुँदैछ । यो बत्ती जडान भएपछि यात्रु वा सवारीको चाप बढ्दा बत्ती धेरै बल्ने र कम हुँदै जाँदा घट्दै जानेछ ।

उनले भने, ‘यात्रु र सवारी चालक आएपछि सबै बत्ती बल्छ भने नपर्दा आफैँ निभ्दै जान्छ ।’ चार वटा खम्बामध्ये पालैपालो एउटा खम्बामा बत्ती बल्ने महर्जनले बताए । यसले गर्दा सिसिटिभीबाट पनि सडकका दृष्य देखिनेछ । यो बत्ती बल्दा गाडी नम्बर स्पष्टरुपमा देखिने उनले बताए ।
सवारीको चाप बढी हुने सडकमा तीन चरणमा गरेर ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको महानगरपालिकाले जनाएको छ । पहिलो चरणमा पुल्चोकबाट कुपण्डोलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको प्रवक्ता महर्जनले बताए ।

यस क्षेत्रमा बत्ती जडानका लागि विद्युत् प्राधिकरणसँग सम्झौता भएर बोलपत्रसमेत भइसकेको छ । महर्जनले भने, ‘दशैँअघि नै बत्ती जडान गरिसक्ने लक्ष्य लिइएको छ ।’ दशैँअघि बत्ती जडान गर्दा यस क्षेत्रमा सुरक्षा मजबुत हुने महानगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा पुल्चोकसम्म जडान गर्न सकिएपछि अर्को चरणमा लगनखेलसम्म बत्ती जडान हुने प्रवक्ता महर्जनले बताए । लगनखेलबाट धापाखेल, पाटनढोका, पिम्बहाललगायतका स्थानमा ‘स्मार्ट’ बत्ती जडान गर्दै जाने योजना उनले सुनाए । ‘आवश्यक भएका ठाउँमा बोलपत्र भइरहेको छ’ उनले भने ।

यात्रु र चालकको सहजता र सडक सुरक्षाका हिसावले ‘स्मार्ट’ बत्ती जडानलाई महानगरपालिकाले प्राथमिकतामा राखेको महर्जनले बताए । कुपण्डोलबाट लगनखेलसम्म जिल्लामा सबैभन्दा बढी सवारी चाप रहेको छ ।

मङ्गलबजार, पाटनढोकालगायत पर्यटकको आगमन हुने ठाउँलाई महानगरपालिकाले प्राथमिकता दिएको छ । स्थानीयवासी, यस क्षेत्रमा हिँड्ने यात्रु, चालक र पर्यटक सबैलाई ‘स्मार्ट’ बत्तीले सहज बनाउने महर्जनले बताए । ‘स्थानीयवासीको मागकै आधारमा हामीले विद्युत् प्राधिकणसँगको सहकार्यमा बत्ती जडान गरिरहेका हौं’ उनले भने ।

रातको समयमा सडक दुर्घटना धेरै हुने भन्दै त्यो कम गर्ने सडक बत्ती जडान गर्न आवश्यक भएको ट्राफिक प्रहरीले बताउँदै आएको थियो । रातका समयमा सडक दुर्घटना र अपराधका घटना दुबै बढी हुने गर्दछ । यसअघि महानगरपालिकाका मुख्य र सहायक सडक कतै पनि सडक बत्ती थिएन ।

You might also like

Comments are closed.