Nepal's First Video FM

भ्यालेन्टाइन : संस्कृति कि विकृति के भन्छन कलाकारहरु

442

फाल्गुन ३, हरेक वर्ष फेब्रुअरी ८ देखि १४ सम्म भ्यालेन्टाइन सप्ताहको रुपमा मनाइन्छ । विशेषगरी पश्चिमा देशहरुमा मनाइने यो दिवस पछिल्ला केही वर्षमा नेपालमा पनि निकै महत्वका साथ मनाउँदै आइएको छ । युवाहरुले त यो दिनलाई उत्सवकै रुपमा मनाउने गरेका छन् ।

भ्यालेन्टाइन डेका बारेमा सबैका आ–आफ्नै धारणा छन् । कसैले पश्चिमको संस्कृति भएकाले यसलाई मनाउन आवश्यक नभएको भन्छन् त कोही राम्रो पक्षलाई अनुशरण गरेर मनाउनुपर्ने बताउँछन् । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसबारे के भन्छन् केही साहित्यकार तथा कलाकारहरु ।

अमर न्यौपाने, साहित्यकार
प्रेम भन्ने कुरा उच्च स्थानमा हुन्छ । त्यसैले यसलाई दुरुपयोग गर्नु हुँदैन । नेपालीमा एउटा उखान छ, अतिथि देवो भवः । हाम्रो यही संस्कारले गर्दा पनि हामी यो वेस्टर्न कल्चरलाई सम्मान गर्छौं । उनीहरुमा अतिथि देवो भवःको संस्कार छैन होला, त्यो उनीहरुको कल्चर भयो तर हामी अरुलाई सधैं सम्मान गर्छौं ।

भ्यालेन्टाइन डे मनाउनु नराम्रो होइन । पाश्चात्य कुराहरु पूर्वियाहरु सहजै स्वीकार गर्ने भएकाले पनि नेपालीले प्रेम दिवसलाई छोटो समयमै आत्मसात गरेका हुन् । प्रेम गर्नेहरुका लागि सधैं उस्तै दिन हो ।

विपिन कार्की, कलाकार
यो वर्ष श्रीमतीसँग भ्यालेनटाइन डे मनाउँदैछु । उपहार पनि दिने मेरो योजना छ । खासै ठूलो त हैन सामान्य उपहार दिन्छु । सबैले मनाउँदा मनाउँ भन्ने लाग्छ । तर उत्सव नै हो भन्ने चाहिँ मलाई लाग्दैन ।

विवाह अगाडि पनि खासै तडकभडकका साथ कहिल्यै मनाइएन । सामान्य फूल, चिठी दिनेसम्म हुन्थ्यो, तर साथीका हिसाबले मात्रै स्पेशल भ्यालेन्टाइन भनेर होइन । एरेन्ज म्यारिज गरेका हुनाले विवाहपूर्व श्रीमतीलाई भ्यालेन्टाइनका रुपमा भेट्न पाइएन । भ्यालेनटाइन डे मनाउनै पर्छ भन्ने पनि छैन र मनाउनै हुँदैन भन्ने पनि होइन । सबैले मनाउँदा मनाएकै राम्रो हो ।

दीलिप रायमाझी, कलाकार
यो भ्यालेन्टाइनमा एक्लै छु । श्रीमती अमेरिकामा छिन् । बिहानै श्रीमतीलाई फोन गर्छु र भ्यालेन्टाइन विस गर्छु । सँगै छँदा श्रीमतीलाई लिएर होटल जान्थें र सँगै खान्थ्यौं । गिफ्ट पनि दिन्थें । यो दिन माया गर्ने कोमल मन हुनेहरुको लागि प्रपोज गर्ने दिन हो ।

म युवा हुँदा अहिलेको जस्तो थिएन । त्यो बेला अहिलेको जस्तो समय थिएन । सहर बजारका युवामा मात्रै भ्यालेन्टाइन डेबारे सायद जानकारी थियो तर अहिले त्यस्तो छैन, सबैले मनाउँछन् । भ्यालेन्टाइन डे मनाउनु राम्रै हो ।

बाबु बोगटी, गायक
अमेरिकामा रहेकी श्रीमतीलाई राति १२ बजेर ३ मिनेट जाँदा फोन गरेर ‘ह्यापी भ्यालेनटाइन डे’ भनेँ । श्रीमती पनि खुसी भइन् । ‘सेम टु यु’ भनिन् । गत वर्ष सँगै भ्यालेनटाइन डे मनाएका थियौं । दुवैजना सँगै होटलमा खाना खाएका थियौं । म काठमाडौं आएपछि मात्रै थाहा पाएको हुँ भ्यालेन्टाइन डे भनेको । सानैदेखि नमनाएको वा थाहा नभएकाले पनि होला मैले विवाह अगाडि पनि र विवाह पछि यसलाई विशेष रुपमा हेरिन । प्रेमको प्रतीकको रुपमा मनाउने भएकाले यसलाई राम्रो नै मान्नुपर्छ । प्रेमी प्रेमिकाहरुका लागि प्रपोज गर्ने दिन भएकाले पनि होला, पछिल्ला दिनमा यसको महत्व भने बढ्दै गएको छ ।

प्रेमका कुरा सधैं हुने भएपनि आज विशेष दिन भएकाले अझै बढी अर्थ राख्छ जस्तो मलाई लाग्छ । प्रेम दिवसकै दिन पारेर मैले गीत पनि सार्वजनिक गरेको छु । यसकै ‘प्रोमोसन’ गरिरहेको छु ।

सृष्टि केसी, दृष्टिविहीन
मेरो जीवनकथामा आधारित रहेको बायोपिक चलचित्र ‘ब्लाइन्ड रक्स’ यही महिना रिलिज हुँदैछ । बेनिशा हमाल मेरो रोलमा देखिँदैछिन् । बिहानै हामीजस्तै केही दृष्टिविहिन साथीहरुले भ्यालेन्टाएन डेको सुभकामना साटासाट गर्यौं । साँझ एकै ठाउँमा भेला भएर रोमान्टिक गीत गाएर भ्यालेन्टाइन डेलाई स्पेसल बनाउँदैछौं ।

भ्यालेनटाइन डे मनाउनैपर्छ भन्ने पनि छैन । तर मनाउनु हुँदैन भन्ने पनि होइन । हरेक दिनको आआफ्नै महत्व हुन्छ । जन्म दिन किन मनाइन्छ ? त्यस्तै भ्यालेन्टाइन डे पनि प्रेम गर्नेहरुका लागि स्पेशल डे भएकाले मनाउँछन् । त्यसैले मनाउनै पर्छ भन्ने पनि छैन तर मनाउनु हुँदैन पनि म भन्दिन ।
बिहानसम्म कसैले विस गरेको थिएन भ्यालेन्टाइनको, आउला कि साँझसम्ममा । प्रतिक्षामा छु ।”

उमा सुवेदी, साहित्यकार
प्रेम गर्नेहरुका लागि हरेक दिन भ्यालेन्टाइन डे हुन्छ । मेरो भने यस वर्ष खासै केही योजना छैन । भ्यालेन्टाईन डे मनाउनु नराम्रो हैन तर नकरात्मक तरिकाले मनाउनु भएन । भ्यालेन्टाईन डे एक हप्ता अगाडि देखि मनाउन जरुरी छैन ।

सुबिन भट्टराई, साहित्यकार
प्रणय दिवसप्रति मेरो खासै चासो छैन, तर म यसको विरुद्धमा पनि छैन । प्रेम भन्ने कुरा सधैभरी हुनुपर्छ । एक हप्ताभरी मनाउनु कुनै नराम्रो कुरा भने पक्कै हैन । प्रेमको नाममा देखासिकी गर्नुभन्दा पनि भित्रैबाट प्रेम गर्नु उचित हो ।

ऋचा भट्टराई, लेखक
प्रणय दिवस खासै मनाइँदैन, तर यो दिन अलि विशेष लाग्छ । जसले जसरी सक्छ, त्यसरी मनाउने हो, तर आजभोलि प्रणय दिवसको नाममाअलि बढी देखासिकी भएझैं लाग्छ । एक हप्ताअघिदेखि मनाइने प्रणय दिवसले युवाहरुमा प्रभाव परिरहेको छ ।

(नरेश फुयाँल र रुमु न्यौपानेसँगको कुराकानीमा आधारित)

You might also like

Comments are closed.