गणतन्त्रको स्थापनासँगै नारायणहिटी राजदरबार संग्राहलयमा रुपान्तरण भयो । त्यसयता राजदरबारसँग सम्बन्धित धेरै ‘रहस्य’का वस्तुमा सर्वसाधारणको पहुँच पुग्यो । तर, श्रीपेच, राजदण्ड, मुकुटजस्ता बहुमुल्य वस्तु भने सार्वजनिक गरिएको थिएन् । ठिलै भएपनि सरकारले तिनलाई सर्वसाधारणको पहुँचसम्म पु¥याएको छ ।
२०६५ साल जेठ २९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाड्दा सरकारलाई हस्तान्तरण गरेको श्रीपेज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेसँगै त्यसप्रतिको आम ‘रहस्य’ खुलेको छ । अब नारायणहिटी संग्राहलयको सुर्खेत र रुपन्देही कक्षमा श्रीपेचसँगै राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरबार, झारी, चमरलगायत सामग्री सर्वसाधारणले अबलोकन गर्न सक्नेछन् ।
श्रीपेचमा कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ । राजदण्ड र चमरमा भने सुनैसुन छ । श्रीपेचमा ७ सय ५० र मुकुटमा २ हजार ७ सय टुक्रा हिरा छ । श्रीपेचको पछाडि आकर्षक कल्ली छ, जुन ‘वर्ड अफ प्याराडाइज’ नामक चराको पुच्छर हो ।
राजा वीरेन्द्रको राज्यभिषेकका लागि २०२८ सालमा प्रेमलाल श्रेष्ठले तयार पारेका हुन् यो श्रीपेज । राजाहरूले राज्यारोहण, राज्याभिषेक, छोरीको कन्यादानका बेला, युवराज्ञीलाई भित्र्याउँदा र तस्बिर खिचाउने बेला श्रीपेच लगाउने चलन थियो । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले २०५८ जेठ २२ गते राज्यारोहणका दिनबाहेक छोरी प्रेरणाको विवाहमा यो श्रीपेज पहिरिएका थिए ।
सरकारले आर्थिक वर्ष २०६८/६९ को बजेटमै श्रीपेच प्रदर्शनीमा राख्ने घोषणा गरेपनि सुरक्षाको कारण संभव भएको थिएन । करिब ६ वर्षपछि मात्रै आवश्यक सुरक्षा प्रबन्ध गरी श्रीपेच अवलोकनका लागि खुला गरिएको हो । जसको सर्वसाधारणले कात्तिक ४ गतेपछि अबलोकन गर्न सक्नेछन् । ‘बुलेट प्रुफ’ सिसासहितको ‘सोकेस’मा राखिएको श्रीपेजसहितका सामग्रीको सुरक्षाका लागि सात तह निर्धारण गरिएको छ । News24
Comments are closed.