कपिलवस्तुको कृष्णनगरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू पूर्ण रुपमा हटाएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू पटक पटक गरी मंगलबार विहान ६ बजेदेखि पूर्ण रुपमा हटाएको हो ।
पछिल्लो पटक सोमबार साँझ ५ बजेदेखि मंगलबार विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाइएको थियो । मंगलबार विहान अर्को सूचना प्रकाशित गरी दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू हटाइएको थियो । त्यसपछि भने पूर्ण रुपमा कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कृष्णनगर बजार क्षेत्रमा शुक्रबार दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय दुई समुदायबीच विवाद भएपछि सम्भावित दुर्घटना रोक्न जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको थियो ।
विवाद भए पनि आइतबार कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो । कर्फ्यु हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ ।
प्रशासनले कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर-१ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यू लगाउँदै आएको थियो ।
Comments are closed, but trackbacks and pingbacks are open.