कातिक १७, प्रजातान्त्रिक र राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यअनुसार विगतमा जुट्दै र फुट्दै आएका तीनवटा राप्रपा पुनः एकीकरण हुने भएका छन् ।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच पुनः एकीकरणको गृहकार्य सुरु भएको हो । यी तीन पार्टी एकीकरण भएको एक वर्ष दिन नबित्दै गत निर्वाचनका बेला फुटेर तीन टुक्रा भएका थिए ।
पछिल्लो समय थापा नेतृत्वको राप्रपा र राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले पार्टी एकताका लागि वार्ता समिति गठन गरे पनि राप्रपाले केन्द्रीय कार्यसमिति भङ्ग गरेसँगै राप्रपाको वार्ता समिति पनि भङ्ग भएको थियो । उता प्रजातान्त्रिकतर्फको वार्ता समिति पनि निष्क्रिय जस्तै भएको थियो ।
दुवै पार्टीका वार्ता समितिले एकीकरणका लागि गृहकार्य गरिरहेकै बेला राप्रपाको केन्द्रीय समिति र वार्ता समिति भङ्ग भएपछि पार्टी एकताका लागि अध्यक्ष कमल थापा, प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र एकीकृत राष्ट्रवादीका डा. प्रकाशचन्द्र लोहनीबीच पटक पटक छलफल भएको नेताहरूले बताएका छन् । ‘ती छलफलमा अर्को महाधिवेशनसम्म दुई वा तीन अध्यक्ष राख्ने भन्नेमा छलफल भए पनि सहमति भने भइसकेको छैन ।
सम्भवत तीनै अध्यक्ष राखेर एकता गरिन्छ’, तीनमध्येका एक अध्यक्षले रातोपाटीलाई भने, ‘तीनै पार्टी एकता गरेर प्रजातान्त्रिक राष्ट्रवादी शक्ति बनाउनेमा दुई मत छैन र एकताको प्रतीकका रूपमा संवैधानिक राजतन्त्र राख्नेबारेमा पनि मतभिन्नता छैन । अबको हाम्रो एकता नेकपाको मोडलमा नै हुन्छ । त्यसका लागि केही समय भने लाग्न सक्छ ।’
एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन पार्टी एकताका लागि भएका वार्ता र छलफल सकारात्मक भएको बताए । उनले रातोपाटीसँग भने, ‘पटक पटक एकताका लागि अध्यक्षकै तहमा वार्ता भएका छन् । ती वार्ता निकै सकारात्मक छन् । यसअघिका वार्ताका आधारमा सहमतिको विन्दु पहिल्याउन तीनै नेता सहमत छौँ’ डा. लोहनीले भने । उनका अनुसार लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेका भनिएका प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा पनि संवैधानिक राजतन्त्र स्वीकार गर्न तयार भएका छन् । ‘उहाँ पनि एकताको प्रतीकका रूपमा राजसंस्था राख्न सहमत भइसक्नुभएको छ । अब त्यसमा कुनै विवाद छैन’, डा. लोहनीको दाबी छ ।
राप्रपाका नेता मोहन श्रेष्ठले अध्यक्षकै तहमा एकताबारे छलफल भइरहेको आफूले पनि सुनेको भन्दै एकताको विकल्प नभएको बताए । ‘अध्यक्षकै तहमा छलफल भएकाले यस पटक एकता प्रक्रिया निर्णयमा पुग्छ भन्नेमा आशा गर्न सकिन्छ ‘यसअघि राप्रपाको सहप्रवक्तासमेत रहेका श्रेष्ठले रातोपाटीलाई बताए ।
‘तीनवटै पार्टी एकीकरण गरेर अघि बढ्न लगभग सहमति भइसकेको भन्ने मैले पनि सुनेको छु । तर त्यो कुरा हाम्रो तहमा आइसकेको छैन । सायद छिटै पार्टीमा छलफल होला’, राप्रपा प्रजातान्त्रिकका नेता सुनिल थापाले बताए । उनका अनुसार केही प्राविधिक विषयमा सहमति जुटाएपछि पार्टी तहमा छलफल गर्नेगरी कुरा भइरहेको आफूले पनि सुनेको बताए ।
नेताहरूका अनुसार एकता गर्दा गत महाधिवेशनको दस्तावेजका आधारमा नै पार्टी एकता गरिने छ । तत्कालीन एकता महाधिवेशनमा राप्रपाले संवैधानिक राजसंस्थालाई आफ्नो मूल सिद्धान्तका रूपमा स्वीकार गरेको थियो ।
राताेपाटी बाट
Comments are closed.