Nepal's First Video FM

गच्छदार उपसभापतिमा मनोनीत : निधि र गच्छदार को वरिष्ठ ?

565

दश वर्षपछि माउ पार्टी कांग्रेसमै फर्किएका नेता विजयकुमार गच्छदार उपसभापतिमा मनोनीत भएका छन् । तत्कालीन लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएको एक वर्ष २० दिनपछि उनी राजनीतिक निर्णयका आधारमा उपसभापति बनेका हुन् । मंगलबारको पार्टी केन्द्रीय समिति बैठकले निर्णय अनुमोदन गरेको छ ।

पहिलो संविधानसभा निर्वाचनअघि गच्छदार कांग्रेस छाडेर उपेन्द्र यादवले नेतृत्व गरेको फोरममा प्रवेश गरेका थिए । पछि, फोरम फुटाएर आफ्नै नेतृत्वमा लोकतान्त्रिक फोरम गठन गरेका थिए । गच्छदारलाई उपसभापतिमा मनोनीत गरे पनि उनीसँगै तत्कालीन लोकतान्त्रिक फोरमबाट आएका नेता–कार्यकर्ताको समायोजन भएको छैन । उनीहरूको समायोजनका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँचसदस्यीय समायोजन समिति गठन गरिएको छ ।

समितिलाई दुवै पार्टीका केन्द्रदेखि प्रदेश, जिल्ला, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य, क्षेत्र, नगर, गाउँ कार्यसमिति, भ्रातृ संस्थाहरूको समायोजन प्रक्रिया पूरा गर्ने जिम्मा दिइएको छ । केन्द्रीय कार्यसमितिको अर्को बैठकमा समितिले समायोजनको खाकासहितको प्रस्ताव पेस गर्नुपर्नेछ ।

पौडेल र सिटौला पक्षको आपत्ति
यसअघि गच्छदारलाई बाधा अड्काउ फुकाउको माध्यमबाट उपसभापति बनाउने तयारी थियो । तर, अन्ततः देउवाले राजनीतिक आवश्यकताको आधार प्रस्तुत गर्दै उपसभापति मनोनीत गरेपछि रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले असन्तुष्टि जनाएका छन् ।

व्यक्तिभन्दा पनि प्रक्रियामा आफूहरूले असन्तुष्टि जनाएको नेता अर्जुननरसिंह केसीले बताए । ‘व्यक्तिका रूपमा गच्छदारप्रति हाम्रो असहमति होइन, विधानमा भएको व्यवस्थालाई फुकाएर गर्नुपर्नेमा हाम्रो जोड थियो,’ केसीले भने, ‘तर, राजनीतिक निर्णयका आधारमा गरिएपछि प्रक्रियालाई ख्याल गरिएन भन्ने हाम्रो मत हो ।’

निधि र गच्छदार को वरिष्ठ ?
कांग्रेसमा मधेसी मूलका दुई नेता उपसभापति भएका छन् । निधि केही महिनाअघि मनोनीत भएका थिए । दुई नेतामध्ये पहिले मनोनीत गरिएका निधि नै वरीयतामा अगाडि रहने भएका छन् ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वरीयताक्रममा गच्छदारभन्दा निधि अगाडि रहने बताए । ‘पहिले आफू र उहाँ (गच्छदार) दोस्रो उपसभापति हो । यो कुरा उहाँलाई पनि थाहा छ र सहमत हुनुहुन्छ,’ निधिले आफूनिकट नेताहरूसँग भनेको एक नेताले बताए । तर, गच्छदारलाई मनोनीत गरिएको औपचारिक जानकारी दिने क्रममा केन्द्रीय सदस्य रमेश लेखकले वरीयता पछि टुंगो लाग्ने बताए ।

निधि केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पनि हुन् । पार्टी एकतापछि गच्छदारलाई विशेष आमन्त्रित सदस्यका रूपमा केन्द्रीय समितमा प्रवेश दिइएको थियो । संसदीय दलको नेतामा देउवा विजयी भएपछि गच्छदारलाई दलको उपनेता चयन गरिएको थियो । अर्का उपसभापतिको काम, कर्तव्य र जिम्मेवारी के हुने भन्ने खुलाइएको छैन ।

You might also like

Comments are closed.