Nepal's First Video FM

पूर्वराजाले यसरी चर्काउँदैछन् हिन्दूवादी आन्दोलन

682

काठमाडौं, २२ कात्तिक । हिन्दूवादी आन्दोलनको तयारी गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहको पहलमा पटक–पटक विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टी पुन एकीकरणमा जुटेका छन् ।

शाहले एकीकरणका लागि दिएको दबाबको एक वर्षपछि तीन राप्रपा एकीकरणको तयारीमा जुटेका हुन् । गत बर्षको हिउँदमा झापा भ्रमणमा पुगेका बेला शाहले राप्रपा एकीकरण गरी हिन्दूवादी आन्दोलन अघि बढाउन दबाब दिएका थिए । तर गणतन्त्र र धर्म निरपेक्षता स्वीकार गरी सत्ताको स्वाद पनि चाखेका पार्टीले त्यसलाई गहनताका साथ लिएका थिएनन् ।

शाहको भारतीय संस्थापनसँगका बारम्बारका बैठक सफल भएपछि कुटनीतिक साथ समेत पाउने भएपछि राप्रपा एकीकरणको चरणमा पुगेका हुन् ।

एकीकरणको पहल भइरहेको एउटा दलका अध्यक्ष कमल थापाले उल्लेख गरे पनि अन्य बोलेका थिएनन् । तर सरकारको कार्यशैलीको विरोध गर्दै हिन्दूवादी आन्दोलन चर्काउने घोषणा सहित प्रजातान्त्रिक राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले पनि त्यस्तो संकेत गरेका छन् ।

राप्रपा लोकतान्त्रिकका डा. प्रकाशचन्द्र लोहनीसँग पनि छलफल भइसकेको छ । थापा र राणाबीच एकीकरणका विषयमा अनौपचारिक छलफल चलिसकेको छ । त्यसो त एकीकरणकै लागि भनेर कार्यदल गठनको तयारी पनि भएको थियो ।

सूर्यबहादुर थापा, पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्द लगायतले ०४७ सालमा आएको प्रजातन्त्रपछि राप्रपा स्थापना गरेका थिए ।

यसरी पार्टी फोड्ने र जोड्नेका खेलाडी थिए पञ्चायतकालमा प्रधानमन्त्री भइसकेका नेताहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै पञ्चायतका मन्त्रीहरू प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मा, राजेश्वर देवकोटा ।

दरबारसँग नजिक रहेका र इतिहास जोडिएको दललाई नै सक्रिय बनाएर शाहले नेपालमा हिन्दूवादी आन्दोलन अघि बढाउने तयारी गरेका छन् । २०१९ मा हुन लागेको भारतको लोक सभाको चुनावमा भारतीय जनता पार्टीले हिन्दूवादी नारालाई बलियो बनाइरहेका बेला त्यसको हावा नेपालमा पनि चलाउने तयारी दरबारको रहेको छ ।

२६ जनवरी, २०१९ मा भारतमा पूर्वराजाले गणतन्त्र दिवसको औपचारिक कार्यक्रममा सहभागीता जनाउनुअघि नेपालमा पनि हिन्दूवादी आन्दोलनलाई मुकाम दिने तयारी भएको छ । सोबीच भाजपाले शाहलाई हिन्दूत्वका निम्ति भारतीय मञ्चमा उभ्याउने तयारी गरेको उच्च स्रोतहरूले जनाएका छन् ।

शाहले हिन्दूवादी आन्दोलन र आवाज नेपाल बलियो बनाउनका लागि नेपाली कांग्रेसको कोइराला कित्तालाई हातमा लिइसकेका छन् । महामन्त्री डा. शशांक कोइरालालगायतले हिन्दूवादी आन्दोलनमा साथ दिनेछन् भने स्व. नेता खुमबहादुर खड्काका पक्षधरले सदनमा पनि आन्दोलनपछिको अवस्थालाई दबाबपूर्ण हिसाबले उठाउने तयारी भएको छ ।

विश्व हिन्दू महासंघ, शिव सेना सक्रिय हुने
कांग्रेसको एउटा कित्ता आन्दोलनमा होमिएपछि सडकमा विश्व हिन्दू महासंघका कार्यकर्ता, कर्मवीर कार्यकर्ता र शिव सेना नेपालले सडक तताउने तयारी गरेको छ ।

देशव्यापी रूपमा हिन्दूत्वको अवस्था बुझ्नका लागि पूर्वयुवराज पारस शाह, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलगायतको समूह यसअघि देश दौडाहा पुगेको थियो । धर्मको पक्षमा आमसाधारण रहेको बुझेका कारण आन्दोलन चर्काउने तयारी भएको हो ।

धार्मिक अनुष्ठान, सभा सम्मेलनलाई बलियो बनाउँदै नेपाललाई हिन्दू राज्य कायम गर्दै, व्यवस्था परिवर्तनका लागि राजसंस्थाको पुनः उदय गराउने तयारी भएको हो ।

यसका लागि भारतीय संस्थापनले बहुमतमा रहेको नेपाल कम्युनिस्ट पार्टीको हिन्दूवादी कित्तालाई पार्टीबाट अलग बनाउनसक्ने अनुमान गरिएको छ ।

You might also like

Comments are closed.