Nepal's First Video FM

राष्ट्रपतिको भाइटीकामा मिडियालाई प्रवेश निषेध, पूर्वराजाकोमा स्वागत

598

दशैँमा घुँडा टेकाएर टीका लगाइदिएको भनी चर्को आलोचना भएपछि शायद् राष्ट्रपति कार्यालय मुर्मुरिएको होला। त्यसैले यस पटक मिडियाका लागि शितल निवासको ढोका बन्द गरियो। अघिल्ला वर्षहरुमा जस्तो फोटो/भिडियो खिच्न पाउँला भनी आज पनि पत्रकारहरु शितल निवास पुगेका थिए। तर उनीहरुलाई सुरक्षाकर्मीहरुले गेटैमा रोके। भने, ‘यो प्राइभेट सेरेमोनी हो। तपाईँहरुलाई हामी आफै फोटो पठाइदिन्छौँ।’

लुरुक्क लागेर फर्किनु बाहेक अर्को विकल्प थिएन उनीहरुको। त्यसो त राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीका लगाएको त्यस्तो ठूलो छुटाउनै नहुने समाचार पनि हैन। तर पनि राष्ट्रप्रमुखको भाइटीका कस्तो हुँदो रहेछ भनेर थाहा पाउने चासो ‘सर्वसाधारण’लाई हुन्छ नै। आलोचना भएपछि ढोकै बन्द गरेर टाढिने हो भने त सल्लाहकारहरुले नै सोच्लान् छवि कसरी राम्रो बनाउने।

त्यसै पनि राष्ट्रपतिको प्रशंसा भएको कहिले सोच्नु पर्ने स्थिति भइसक्यो। आलोचना चाहिँ हुँदै गर्छ। शितल निवासबाट बाहिर निस्कने बित्तिकै सडकमा सवारी साधन रोकेर सवारी चलाउनु पर्छ। यस्तो बेला जाम सहनु पर्नेहरु मुर्मुरिन्छन्। राष्ट्रपतिले मेरो कारण जनताले दुःख पाए, दुःख नपाउने गरी सवारी व्यवस्थापन गर्नु भनेर एक शब्द बोलिदिए पनि हुन्थ्यो। तर अहँ। राष्ट्रपतिलाई जनताबाट टाढा राख्नुपर्छ भन्ने सोचमै छन् जस्तो छ सल्लाहकारहरु।
उता पूर्वराजाको भाइटीकाको फोटो/भिडियो खिच्न गएका मिडियाकर्मीहरुलाई भने ज्ञानेन्द्रले ‘तपाईँहरु आइदिनुभएकोमा धन्यवाद’ भने। पत्रकारहरुलाई व्यक्तिगत रुपमै ‘तपाईँ त नयाँ हुनुहुन्छ कि के हो?’ भनेरसमेत सोधे, परिचय गरे।

कस्तो उल्टो जमाना आएको। त्यतिबेलाका नेताहरु राजसी ठाँटमा उत्रिएका छन्। त्यतिबेलाका राजा भने नजिकिन खोज्दैछन्। राष्ट्रपति निवासको ढोका बन्द गरेर बसिरहेको बेला पूर्वराजा भने भाइटीका सकाएर मिडियाको माइक सामु ‘बाइट’ (प्रतिक्रिया) समेत दिइरहेका छन्।

यो गजबको अन्तर्विरोध राष्ट्रपति स्वयंले वा उनका सल्लाहकारहरुले हेरिरहेका होलान् कि नाइँ? हेरिरहेको भए लाज लाग्यो कि गर्व लागिरहेको होला?

You might also like

Comments are closed.