Nepal's First Video FM

२२ लाखमा ज्यान मुद्दाको मिलापत्र

701

प्रहरीले कर्तव्य ज्यानसम्बन्धी एउटा घटना मिलापत्रमा टुंग्याएको छ । कपिलवस्तुको तौलिहवा १ घर भई तारकेश्वर नगरपालिका बस्ने एक व्यक्तिको मृत्युसम्बन्धी घटनामा प्रहरी अस्पतालमा कार्यरत सई सुरेन्द्र कार्की र पीडित परिवारबीच मिलापत्र गराइएको हो ।

कार्कीले पीडित परिवारलाई किस्ताबन्दीमा २२ लाख रुपैयाँ ‘राहत’ दिने र रकम लिएपछि दुवै पक्षले मुद्दामामिला नगर्ने मिलापत्रमा उल्लेख छ । व्यक्तिगत लेनदेनका सिलसिलामा सई कार्कीले कात्तिक १८ गते राति ती व्यक्तिलाई मोटरसाइकलमा लिएर गएका थिए । भोलिपल्ट महानगरीय प्रहरी परिसर काठमाडौंले उनकी पत्नीलाई श्रीमान् बिरामी भएर वीर अस्पतालमा लगिएको भन्दै भेट्न आउन खबर गरेको थियो । त्यसको केही घण्टामै उनकोनिधन भयो ।

घटनापछि सई कार्कीविरुद्ध किटानी जाहेरी दर्ता गर्न खोज्दा महानगरीय प्रहरी परिसर काठमाडौंका अधिकारीले जाहेरी लिन नमानेको मृतकका आफन्त र नातेदारले जनाएका छन् । एक प्रहरी अधिकारीका अनुसार पीडित परिवारलाई महानगरीय प्रहरी परिसर काठमाडौंमै राखेर प्रहरी अधिकारीहरूले मिलापत्रमा हस्ताक्षर गर्न लगाएका थिए । ‘उक्त मिलापत्र प्रहरी परिसरमै टाइप गरेर प्रिन्ट गरिएको थियो,’ स्रोतले भन्यो, ‘किटानी जाहेरी दर्ता नगर्ने तर अप्रत्यक्ष रूपमा प्रहरीकै दबाबमा मिलापत्र गराएर गम्भीर अपराध लुकाउन खोज्नु दुर्भाग्य हो ।’

सरकारवादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्न मिल्दैन । प्रहरी अस्पतालमा रहेका सईलाई मुद्दामामिलामा हस्तक्षेप गरेर व्यक्ति पक्राउ गर्ने अधिकार पनि हुँदैन । प्रहरीस्रोतले कान्तिपुरलाई उपलब्ध गराएको मिलापत्रमा घटनाको व्यहोरा उल्लेख गरी पाँचबुँदे सहमति गरिएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.