चर्चित बलिउड नायिका सन्नी लियोन निर्माणाधिन नेपाली चलचित्र ‘पासवर्ड’ को एउटा गीतमा छायांकन गरेर लन्डनबाट मुम्बइ फर्किएकी छन् ।सन्नीसहित अन्य कलाकारहरु सहभागी गीतको छायांकन दुई दिन लगाएर गत साता लन्डनको किङस्टनस्थित प्रिज्म नाइट क्लबमा गरिएको थियो।
सन्नीले विक्रम जोशीको रचना र अर्जुन पोख्रेलले संगीतवद्ध गरेको ‘आजको शाम बेबी…’ भन्ने गीतमा नृत्य गरेकी हुन्। चर्चित भारतीय कोरियोग्राफर विष्णु देवा पनि मुम्बइबाट लियोनसंगै आएका थिए कोरियोग्राफीका लागि। देवा दबंग २, बडीगार्ड, राउडी राठोर, ओ माइ गड, बेबी लगायत बलिउन सिनेमाका कोरियोग्राफर हुन्। उक्त गीतको छायांकनका लागि मात्र करिब ५ करोड रुपैयाँ खर्च भएको र सन्नीको खर्च साढे ३ करोड रुपैयाँ लागेको निर्माण पक्षको दावी छ।
कलाकारको पारिश्रमिक तथा अन्य खर्च जोड्दा लन्डनमा छायाँकन गरिएको सो गीत नेपाली चलचित्रकै अहिलेसम्मकै सबैभन्दा खर्चिलो गीत भएको निर्माताको दावी छ।३ वटा क्लब र ९ वटा बार रहेको प्रिज्ममा संसारकै चर्चित डिजे तथा कलाकारहरुले कार्यक्रम गर्ने गरेका छन्।‘नेपाली चलचित्र पासवर्डको नृत्य सिक्वेन्समा सहभागी हुन पाउँदा मलाई निकै खुसी लागेको छ’, शुटिङ सकेर मुम्बइ फर्कनुअघि लियोनले भनिन् ‘मलाई नेपाल निकै मन पर्छ र मलाई विश्वास छ नेपाली दर्शकहरुले यो चलचित्र मन पराउनुहुनेछ।’
चलचित्रका एकजना नायक तथा सह निर्माता विक्रम जोशीले बेलायतमा चलचित्रको सुटिङ सकिएको र यही डिसेम्बरभित्र पोस्ट प्रोडक्सनको काम सक्ने योजना रहेको बताए। चलचित्र सन् २०१९ मा रिलिज हुने बताइएको छ।सिनेम्याक्स लन्डन लिमिटेडसंगको सहकार्यमा बनाउन लागिएको सो पहिलो फिल्ममा चलचित्र ‘हयाप्पी डेज’ मार्फत अभिनयमा डेब्यु गरेका विक्की जोशी, दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत मुख्य कलाकार छन्। विक्की फिल्मका क्रिएटिभ निर्देशकसमेत हुन्।
सस्पेन्स, एक्सन र थ्रीलरले भरिपूर्ण उक्त फिल्मको निर्देशन सम्राट बस्नेतले गरेका छन्। यसअघि सम्राटले दर्जनौं फिल्ममा एक्सन कोरियोग्राफी गरिसकेका छन्। पासवर्डमा सौरभ लामाको छायांकन जिम्मेवारी छ भने फिल्मलाई सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेत मिलेर लेखेका हुन्।
झण्डै ९० प्रतिशत भन्दा बढी छायांकन बेलायतमा र अरु नेपालमा गरिएको यो फिल्मलाई नेपालको चलचित्र विकास बोर्डसहित ब्रिटिश फिल्म इन्स्टिच्यूटमा समेत दर्ता गरिएको छ।नेपालबाट आएका २० जना कलाकार तथा प्राविधिकहरुको टोलीले लन्डन, बर्नमाउथ, ससेक्सलगायतका ठाउँमा फिल्मको छायांकन गरेको थियो।शुरुमा १३ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने योजना रहेको उक्त फिल्मको कुल निर्माण खर्च ३० करोड रुपैयाँ पुग्ने दावी निर्माताको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी लागतको नेपाली चलचित्र हुने निर्माता जोशीले बताए। हिरल जोशी र अमित बस्नेतले फिल्ममा लगानी गरेका छन्। ekantipur
Comments are closed, but trackbacks and pingbacks are open.