प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छिट्टै आफ्नै रेल चलाउँछ भनेर भाषण गर्दा धेरैले अहिले पनि पत्याउँदैनन् । तर अबको एक वर्षभित्र आफ्नै रेल ल्याएर चलाउने सरकारको तयारी छ ।
भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चलाउन आफैंले रेल किन्ने सरकारको तयारी हो । जयनगरदेखि जनकपुरसम्म रेलको लिग बिछ्याउने काम भइसकेको छ । भाडामा रेल ल्याएर चलाउनेबारे छलफल भैरहँदा सरकारले आफ्नै रेल किन्ने योजना पनि बनाएको छ ।
‘अबको निकट भविष्यमा देशको आफ्नै रेल हुनेछ’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले भन्नुभयो, ‘रेल खरिद गर्नको लागि भारतको रेल निर्माण कम्पनी कोनकान रेल कर्पोरेसनसँग कुरा भइरहेको छ ।’
तर आफ्नै रेल किन्ने कुरा भए पनि अर्डर गरेको करिब एक वर्षपछि मात्र रेल आउने उहाँले बताउनुभयो । त्यतिबेलासम्मको लागि रेल भाडामा ल्याएर नै चलाइने छ । नेपालमा रेलसम्बन्धी जानकार जनशक्ति नहुँदा जनशक्ति पनि भारतबाटै ल्याउनुपर्ने अधिकारीले बताउनुभयो ।
भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म निर्माणधीन ६९ किलोमिटर रेलमार्ग भारतको आर्थिक सहयोगमा बनिरहेको छ । ‘७ अर्ब २० करोड भारतीय रुपैयाँमा बनिरहेको यस रेलमार्गको जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर खण्ड निर्माण सम्पन्न भइसकेको छ’ नेपाल रेल विभागका प्रवक्ता अमन चित्रकार भन्नुहुन्छ, ‘बाँकी ३४ किलोमिटर खण्डको निर्माण कार्य पनि अबको डेढ वर्षभित्र सम्पन्न हुनेछ ।’
बाँकी खण्ड दुई भागमा बाँडिएको छ । धनुषाको कुर्थादेखि महोत्तरीको भंगालसम्म १८ किलोमिटर र भंगालबाट महोत्तरीको बर्दिबाससम्म १६ किलोमिटरमा विभिन्न पूर्वाधारहरु निर्माण गर्ने काम भईरहेको छ ।
रेल विभागले रेलको माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा एक वर्ष अगाडि नै प्रस्ताव पेस गरेको थियो । अहिले भने प्रधानमन्त्रीको अग्रसरताका कारण रेल खरिदको लागि बजेट निकासा भएको हो ।
‘रेल किन्नको लागि अर्थ मन्त्रालयले ५० करोड रुपैयाँ बजेट छुट्याइसकेको छ । सरकारले पहिलो चरणमा दुईटा रेल किन्न लागेको हो । एउटा रेलको नेपाली मूल्य ५० करोड पर्ने भएकाले बाँकी रकम चाँडै नै निकासा गरिने छ,’ भौतिक तथा यातायात मन्त्रालयका सचिव अधिकारीले बताउनुभयो, ‘प्रधानमन्त्रीको उच्च चाहनाका कारण नै आफ्नै रेल किन्ने कुरा अघि बढेको हो ।’
Ujyalo Online
Comments are closed, but trackbacks and pingbacks are open.