Nepal's First Video FM

ट्रम्पसँग चर्काे विवादपछि रक्षामन्त्री म्याटिसले दिए राजीनामा

423

अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै रक्षामन्त्री म्याटिसले राजीनामा दिनुभएको हो ।सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने अमेरिकी राष्ट्रपतिको घोषणाप्रति अमेरिकाभित्रै र अमेरिकी गठबन्धनका सबै मुलुकले विरोध जनाएका छन् ।

ट्रम्प प्रशासनमा निकै सम्मानित विदेश नीति अधिकारीका रुपमा लिइएका म्याटिसले फेब्रुअरीको अन्त्यबाट पद त्याग्नु हुनेछ । राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा म्याटिसले “आफ्नो विचारसँग निकट व्यक्तिलाई रक्षामन्त्रीमा चुन्न सक्ने अधिकार तपाइँ (राष्ट्रपति) सँग छ” उल्लेख गर्नुभएको छ ।

एकजना वरिष्ट अमेरिकी अधिकारीका अनुसार, म्याटिसले आफ्नो राजीनामा पत्र लिएर राष्ट्रपतिलाई भेट्न ह्वाइट हाउस पुग्नुभएको थियो र उहाँले ट्रम्पसँग करिब ४५ मिनेट कुराकानी गर्नुभएको थियो ।

ती अधिकारीले भेटका क्रममा दुबै नेताबीच कुनै खास किसिमको विवाद थिएन । तर, म्याटिसले सिरियाबाट अमेरिकी फौज फिर्ता हुने निर्णयमा गम्भीर असहमति राखेको हुनसक्ने उनको भनाइ थियो ।

म्याटिसको राजीनामाले ह्वाइट हाउसभित्र गम्भीर सङ्कट देखिन थालेको भन्दै आलोचना हुन थालेको छ । ट्रम्पका सहयोगीहरुले समेत म्याटिसको राजीनामा अस्वाभाविक रहेको बताएका छन् । राष्ट्रपतिका एक इमान्दार सल्लाहकारको बहिर्गमनले राष्ट्रपतिलाई आगामी दिनमा अझ चुनौती खडा हुने बताइएको छ ।

“जनरल म्याटिसको राजीनामा पत्र भर्खर पढें,” फ्लोरिडाका निकै प्रभावशाली रिपब्लीकन पार्टी सिनेटर मार्को रुबियोले ट्वीट गर्दै भन्नुभयो । “हामी गम्भीर नीति भूलतर्फ उन्मूख रहेको यसले सङ्केत गरेको छ । यसले हाम्रो मुलुकलाई जोखिममा पार्नेछ, हाम्रा गठबन्धनलाई नोक्सानमा पार्नेछ, र हाम्रा शत्रुहरुलाई सशक्तीकृत गर्न मद्दत गर्नेछ ।”

You might also like

Comments are closed.