कालीकोटको विकट क्षेत्रमा पर्ने पलाता गाउँपालिका वडा नम्बर १ खाँडा गाउँमा सोमबार बिहान भएको भीषण आगलागीबाट कम्तीमा ८७ घर जलेर खरानी भएका छन्। कालीकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लले नेपालखबरलाई दिएको जानकारीअनुसार आगलागीमा परी चार/पाँच जना घाइते भएका छन्।
‘अहिलेसम्मको जानकारीअनुसार ८७ घर जलेका छन्, अझै एकिन विवरण आउन बाँकी छ,’ प्रहरी निरीक्षक मल्लले नेपालखबरसँग भने, ‘सबै फुसका छाना भएको तथा नजिकै घर भएकाले बस्ती नै सखाप भएको हो।’
थिर्पु र पचालझरनाबाट गएको प्रहरी टोली र स्थानीयबासिन्दाको प्रयासमा बिहान साढे ९ बजेतिर आगलागी नियन्त्रणमा आएको उनले जानकारी दिए। घटनाबारे प्रहरीलाई बिहान साढे २ बजेतिर खबर आएको थियो। प्रहरी निरीक्षक मल्लका अनुसार अहिलेसम्म आगलागीको कारण खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको छ।
सबै घर फुसको भएको र वरपर पानीका स्रोत नभएको सुक्खा क्षेत्र भएकाले आगो नियन्त्रणमा लिन कठिन भएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए। घटनास्थल कालीकोटको सदरमुकाम मान्मबाट २१ कोश टाढा बाजुरानजिक पर्छ।
Comments are closed.