फाल्गुन ५, बाँकेको कोहलपुरबाट ठूलो मात्रामा ब्राउनसुगर बरामद भएको छ। होटलमा बसेर ब्राउनसुगरको कारोबार गरिरहेका एकजना भारतीयसहित तीन जना प्रहरीको फन्दामा परेका छन्।
कोहलपुर नगरपालिका–११, दशविगाहस्थित राप्ती होटलको कोठा नम्बर १०४ बाट प्रहरीले २६ ग्राम ब्राउनसुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । यो हालसम्म प्रहरीले बरामद गरेको सबैभन्दा ठूलो मात्रा हो ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलको कमाण्डमा गएको टोलीले २६ ग्राम ब्राउनसुगरसँगै ३१ हजार पाँच सय नगद, एक थान मोटरसाइकल, तीन थान मोबाइल बरामद गरेको छ । पक्राउ पर्नेमा भारत रुपैडिहाका नन्दु कुरैसी, बाँके बैजनाथ गाउँपालिकाका प्रकाश नेपाली र सन्तोष थापा रहेका छन् ।
लागु पदार्थ ब्राउनसुगरको कारोबार हुँदैछ भन्ने विशेष सुराक पाएपछि प्रहरीले छापा मारेको थियो । प्रहरी निरीक्षक पोखरेलले तीन जना ठूलो कारोबारी भएको बताए । ‘सुर्खेतदेखि जुम्लासम्म पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ, प्रनि पोखरेले भने, लागु पदार्थको ठूलो जालो तोडिएको छ ।’
लागु पदार्थविरुद्धमा प्रहरीले ‘सिधा कारबाही’ चलाएर विशेष टोली नै परिचालन गरेपनि अहिलेसम्म यत्तिधेरै ब्राउनसुगर बरामद गर्न सकेको थिएन । बाँके प्रहरीले एक ग्राम ब्राउनसुगर भेटिदा नै मुद्दा चलाउने गर्दछ ।
एकैपटक २६ ग्राम ब्राउनसुगर बरामद हुनुलाई ठूलो सफलता मानिएको छ । भारतको रुपैडिहामा सहजै पाइने ब्राउनसुगर पछिल्ला दिनमा नेपालगञ्ज, कोहलपुर हुँदै पहाडी जिल्लामा पुर्याउने गरिएको पाइन्छ । प्रहरीले पक्राउ तथ्यांक हेर्दा पनि पहाडी जिल्लातिर ब्राउनसुगरको कारोबार बढ्दै गएको देखिन्छ।
Comments are closed.