सन् २०१८ लाई बिदाइ गर्दै २०१९ को विश्वभर भव्य रुपमा स्वागत गरिएको छ ।पछिल्लो समय विदेशी संस्कृति अँगाल्ने क्रममा नेपालमा समेत केही दशकयता अंग्रेजी क्यालेण्डर अनुसारको नयाँ वर्षको रौनक निकै बढ्दै गएको छ ।
संघीय राजधानी काठमाडाैँलगायत देशका विभिन्न स्थानमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाइँदै छ । डिसेम्वर ३१ लाई नयाँ वर्षको पूर्वसन्ध्याका रुपमा नेपाली र विदेशी पर्यटकहरुले भव्य रुपले मनाएका छन् ।
काठमाडौंको ठमेल र पोखराको लेकसाइडमा राति अबेरसम्म केही विदेशी पर्यटकसहित नेपाली युवा पुस्ताहरुको बाक्लो उपस्थिति थियो । पोखराको लेकसाईडमा सडक महोत्सवको समेत आयोजना भएकाले अन्य स्थानभन्दा पोखरामा नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित कार्यक्रम विशेष रहँदै आएको छ ।
हरेक वर्षको डिसेम्वर २८ देखि १ जनवरीसम्म पोखरामा सडक महोत्सवका रुपमा मनाउँदै आएका छन् । सडकमै खाऊँ, सडकमै नाचौँ र सडकमै रमाऊँ भन्ने नारासहित हरेक वर्ष पर्यटकीय नगरी पोखराका होटल व्यवसायीहरु मिलेर अंग्रेजी नयाँ वर्षको शुभारम्भमा झण्डै ४ किलोमिटर क्षेत्रमा आफनो सेवा सडकमा नै ओर्लेर दिने गरेका छन् ।
Comments are closed.