माओवादीले सञ्चालन गरेको दशक लामो जनयुद्धको दोस्रो ठूला नेता हुन्, मोहन वैद्य ‘किरण’ । २०६४ सालको संविधानसभा निर्वाचनबाट पार्टी देशको सबैभन्दा ठूलो दल बन्दा उनी दोस्रो वरियतामै रहे ।
संविधानसभा विघटन भएपछि २०६९ सालमा माओवादी विभाजन भएर बनेको ड्यास माओवादीलाई उनैले नेतृत्व गरे । अहिले नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव छन् ।
नाम क्रान्तिकारी भएपनि जनयुद्धकालीन माओवादी जस्तो क्रान्तिकारी भने छैन, उनको पार्टी । वैद्य नै महासचिव हुँदाको नेकपा (मशाल) जत्तिको पनि क्रान्तिकारी छवि बनाउन सकेको छैन, यो पार्टीले । तर, नेपालमा नयाँ जनवादी राज्यसत्ता स्थापना गरेरै छाड्ने उनको प्रतिबद्धता भने कायम छ ।
सात दशक उमेर पार गरिसकेका वैद्य ‘पार्टीलाई ठूलो बनाएर जनताको शासन ल्याउन’ भन्दै निरन्तर देश दौडाहामा छन् । पार्टीको कामले उपत्यका बाहिर रहेको भन्दै टार्दै आएका उनले हालै मात्र अन्तर्वार्ताका लागि समय दिए ।
बैद्यले दिएकै समयमा क्रान्तिकारी पार्टीको कार्यालय पुग्दा त्यहाँ केही चहलपहल थिएन । पिए वा अरु सहयोगीलाई भन्न पनि परेन, सिधै वैद्यलाई भेटिए ।
कुराकानीको क्रममा उनले आफ्ना क्रान्तिकारी विचारमा कुनै कमी नआएको आभास गराउन खोजे । पार्टी सानो भएपछि ‘किरण’माथि ‘चैतन्य’ हावी भएको उनले स्विकारेनन् । वैद्यले छुट्टएिर गएको विप्लव नेतृत्वको पार्टीसँग एकीकरणको गुञ्जाइस नरहेको बताए । बरु, गल्ती स्वीकार गरेर आए नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पार्टीमा ठाउँ दिन सक्ने जनाए ।
कुनै बेलाका उनकै चेला रहेका प्रचण्डले भने वैद्यलाई ‘यान्त्रिक जडसुत्रवादी’ भनेका छन् ।
वैद्य भने प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पुरातनपन्थी मान्दा रहेछन् । उनले भने, ‘बैचारिक रुपमा ओलीजीमा पुरातनपन्थी चिन्तन, प्रवृत्ति र अलिकति दम्भ पनि छ । व्यक्तिगत रुपमा भने भन्नुपर्ने केही छैन ।’
Comments are closed.