Nepal's First Video FM

पृथ्वीनारायणविना विश्व मानचित्रमा आजकाे नेपाल हुने थिएन : प्रधानमन्त्री ओली

103

प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहकाे याेगदानकाे स्मरण गर्नुभएकाे छ । २९७औँ पृथ्वीजयन्तीका अवसरमा उहाँले एक शुभकामना सन्देश जारी गर्दै पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई नै जाने सन्देशमा उल्लेख गर्नुभएकाे छ । राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै उहाँले अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताउनुभएको छ ।

“उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले शुरु नगरेको भए वा शुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रूपमा विश्वमानचित्रमा अाजकाे नेपाल उभिनै सक्ने थिएन,” प्रधानमन्त्रीले भन्नुभएको छ, “राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रूपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने थिएन ।”

प्रधानमन्त्रीको सन्देशमा थप भनिएको छ, “उहाँले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, सांस्कृतिक लगायतका अनेक विविधताका बीच मजबुत एकताका आधार तयार गर्नुभयो । अनेकताबीचको एकताको गौरवमय परम्पराको बिजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको थियो । आज अनेकताबीचको एकता नेपालको पहिचान बनेको छ ।”

संसारका अधिकांश देश उपनिवेशवादको चङ्गुलमा परेका बेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने प्रधानमन्त्रीको भनाइ छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.