Nepal's First Video FM

चालु आर्थिक वर्षको पुससम्म वैदेशिक लगानी २६ प्रतिशतले घट्यो

47

सरकार वातावरण बनिसक्यो भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरिरहेको छ । तर, भित्रनु त परै जाओस लगानीको प्रतिवद्धतासमेत घट्दै गएको छ । स्वदेशी उद्योगी–व्यवसायीले नै सरकारी नीति नियमप्रति असन्तुष्टी जनाइरहँदा प्रत्यक्ष प्रभाव वैदेशिक लगानीमा परेको छ । चालु आर्थिक वर्षको ६ महिनामा उद्योगको संख्या बढेपनि बैदेशिक लगानीको प्रतिवद्धता भने ४ अर्ब रुपैयाँले घटेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तम्म विदेशबाट आउने लगानी २६ प्रतिशतले घटेको छ । जबकी गत वर्षमा वैदेशिक लगानीको वृद्धिदर १९३ प्रतिशत थियो । गत वर्षको पुस मासन्तसम्म विदशेबाट १४ अर्ब लगानी भित्रिएकोमा यो वर्ष १० अर्ब २३ करोडमा खुम्चिएको छ । जुन गत वर्षको सोही अवधिमा भन्दा ४ अर्ब रुपैयाँ कम हो ।

गत वर्ष ६१ अर्ब वैदेशिक लगानी भित्रिएको थियो । तीनै तहको निर्वाचन सकिएपछि राजनीतिक स्थिरताको वातावरण तयार हुँदा वैदेशिक लगानी बढ्ने अपेक्षा थियो । तर, तथ्यांकले लगानी मात्र होइन प्रतिवद्धता पनि घटेको देखाएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पुससम्ममा साना तथा मझौला उद्योगका लागि मात्र प्रतिवद्धता आएको छ ।

अघिल्लो वर्षको पुस मसान्तसम्ममा भन्दा यस वर्ष साना तथा मझौला उद्योग, खनिज र सेवा क्षेत्रमा बढेपनि समग्र प्रतिवद्धता भने घटेको हो । निकै अपेक्षा गरिएको जलविद्युत क्षेत्रमा लगानीको प्रतिवद्धता नै आएको छैन । जब कि गतवर्ष यसै अवधिमा १ अर्ब ६९ करोड रुपैयाँ लगानी भित्रिएको थियो ।

लगानी प्रक्रियालाई सहज र सरल बनाउन सरकारले औद्योगिक व्यवासाय ऐन २०७३ अनुसार एकल विन्दु सेवा केन्द्र स्थापना गर्ने नीति लिएको थियो । तर, केन्द्रको प्रारुप र निर्देशिका समेत बन्न सकेको छैन । नीतिगत सुधार, व्यवधानपूर्ण कानून परिमाजर्नन र लगानी सुरक्षाको ग्यारेन्टी नभएसम्म सरकारले जति नै वातावरण बनेको छ भनेपनि लगानी नआउने निजी क्षेत्रको ठम्याई छ ।

सरकारले लगानी भित्र्याउन भन्दै प्राथमिकताको क्षेत्र नै तोकेर चैतमा लगानी सम्मेलन गर्दै छ । निजी क्षेत्रले सम्मेलनअघि नै विदेशी लगानी हतोत्साही गर्ने सबै कानून परिमार्जन गरिसक्नु पर्ने औंल्याउँदै आएका छन् ।

वैदेशिक लगानीसम्बन्धी कानून संशोधनका लागि संसदमा पेश गर्नेक्रम जारी रहेकाले लगानी सम्मेलन अघि नै लगानीकर्ताले सोचेजस्तो वातावरण बन्ने सरकारको अपेक्षा छ । ६ महिनामा घटेको लगानी प्रतिवद्धता सम्मेलनसँगै बढ्ने सरकारको अपेक्षा छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.