Nepal's First Video FM

‘जन्ती बसमा करेन्ट लाग्नुमा विद्युत प्राधिकरणको दोष’

447

धनुषाको सबैलामा जन्ती बसमा करेन्ट लागेर मानवीय क्षति हुनुमा विद्युत प्राधिकरण दोषि रहेको जनप्रतिनिधिले बताएका छन् ।

धनुषाको सबैला नगरपालिका प्रमुख विजय शंकर साहले विद्युत प्राधिकरणको लापरवाहीले घटना भएको दाबी गरे । विद्युतीय तार तन्केर निकै तल झरेको र प्राधिकरणलाई पटकपटक तार तान्न आग्रह गरेपनि नटेर्दा ठूलो दुर्घटना भइ मानवीय क्षति भएको प्रमुख साहले बताए ।

धनुषाको सबैला नगरपालिका वडानम्बर ४ कोठियाबल्टिया भन्ने स्थानमा जन्ती सवार ना ५ ख १७५२ नम्बरको बसमा शुक्रबार बेलुकी करेन्ट लागेको थियो । बेहुला बेहुली भने छुट्टै गाडीमा चढेकाले सकुशल छन् ।

बसको छतमा राखिएको टिनको बाकसमा ११ हजार भोल्टको करेन्ट प्रवाह हुने तार छोइएर मानवीय क्षति भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर मृत्यु भएकाहरुमध्ये ६ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा सिन्धुली दुधौली नगरपालिका ९ का ९ वर्षीय बालक राकेश कुमर, १० वर्षीय सुरज अधिकारी, २० वर्षीया पूजा अधिकारी, १७ वर्षीया लिला अधिकारी, ४५ वर्षीय रामबाबु अधिकारी र धनुषा सबैला ४ की ६० वर्षीया केशम कुमर छन् । करेन्ट लागेर मृत्यु भएकाहरुलाई जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ ।

घाइते ६ जनाको जनकपुर अञ्चल अस्पतालमै उपचार भइरहेको छ ।

यसैबीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शोक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

You might also like

Comments are closed.