Nepal's First Video FM

संसदमा आज मन्त्री र सांसदबीच प्रश्नोत्तर हुने

91

संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा आज मन्त्री र सांसदहरुका बीचमा प्रश्नोत्तर हुने भएको छ ।
दिउसो एक बजेपछि बस्ने बैठकमा गृह मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

मन्त्रीहरुलाई सोध्ने प्रश्नहरु भने दश दिन अगाडी नै दर्ता गरिसक्नु पर्ने प्रावधान अनुसार सांसदहरुले प्रश्न दर्ता गराउनु भएको छ ।
गृहमन्त्री रामबहादुर थापाका लागि कांग्रेसका तीन र नेकपाका एक सांसदले संसद् सचिवालयमा प्रश्न दर्ता गराएका छन् ।
कांग्रेस सांसद डिला संग्रौलाले निर्मला पन्त प्रकरण, देवेन्द्रराज कँडेलले भक्तपुरमा एघार वर्षीय बालक निशान खडकाको अपहरणपछि हत्या गर्ने दुई जनाको प्रहरीले गरेको ‘इन्काउन्टर’ बारे र रामबहादुर विष्टले आफ्नो जिल्लाका नमराज विष्टको हत्यारा पत्ता नलाग्नुको कारण सोध्न लाग्नु भएको छ । थापालाई सत्ता पक्षकै सांसद घनश्याम खतिवडाले मोरङको लेटाङमा पानीमा विषादी मिसाउनेलाई कारबाही कहाँ पुग्यो भनी प्रश्न गर्नुहुने भएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालाई सांसद सरिता न्यौपानेले हिंसापीडित महिला आवासगृह सातै प्रदेशमा बनाउने प्रक्रिया कहाँ पुग्यो भनी प्रश्न गर्न लाग्नु भएको छ भने अर्थमन्त्री युवराज खतिवडाले २ वटा प्रश्न सामना गर्नुहुने भएको छ ।
खतिवडालाई कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुलामा बैंक शाखा विस्तार बारे र डा डिला संग्रौलाले बढी सामान बेच्नेलाई विदेश घुमाउने बहुराष्ट्रिय कम्पनीको प्याकेजले नेपाली मुद्रा बाहिरिएको भन्दै त्यसलाई रोक्ने योजनाबारे प्रश्न सोध्न लाग्नु भएको हो ।
नियमावलीमा सम्बद्ध विषयका पूरक प्रश्न पनि सोध्न पाउने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीमै मन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था गरिएको छ । मन्त्रीहरूले रोस्ट्रममै गएर तिनको जवाफ दिनुपर्छ ।
सांसदले ८८ मौखिक प्रश्न दर्ता गरेकोमा ४३ ओटा प्रश्नको जवाफ मन्त्रालयले संसद सचिवालयमा पठाइसकेका छन् ।
आजको प्रश्नोत्तरमा सहभागी हुन नभ्याएका मन्त्रीहरुसँगको प्रश्नोत्तर भने अर्को बैठकमा हुने पनि सचिवालयले जनाएको छ ।
आजको बैठकको सुरुमै प्रश्नोत्तर गरिने र त्यसपछि अन्य विधेयक सम्वन्धी कार्यसूची रहेको सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीको तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन र न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले “नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकका सम्बन्धमा समितिको प्रतिवेदन पनि आजको संसद बैठकमा पेश गर्नुहनुे भएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.