Nepal's First Video FM

भारतविरूद्ध उसकै भूमिमा नेपालको ऐतिहासिक जित

138

भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाली महिला फुटबल टोलीले आयोजक भारतविरूद्ध ऐतिहासिक जित दर्ता गराएको छ । नेपालले उसकै भूमिमा २-१ को ऐतिहासिक जित दर्ता गराउन सफल भएको हो । कलिङ्गा रंगशालामा नेपालले भारतमाथि २-१ ले जित दर्ता गराउँदा दुवै गोल चर्चित स्ट्राइकर सावित्रा भण्डारीले गर्न सफल भइन् ।

सावित्राले खेलको पाँचौ मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाउन सफल भइन् । हिराकुमारी भुजेलले दिएको लामो पासमा सावित्राले गरेको प्रहार भारतकी गोलरक्षक अदिति चौहानले छोए पनि पोस्टको दिशामा जानबाट रोक्न सकिनन् ।

पहिलो गोल गरेको २ मिनेटमै सावित्राले दोस्रो गोल गर्न सफल भइन् । मनमाया लिम्बूले पेनाल्टी क्षेत्रभित्र दायाँ तर्फबाट दिएको क्रस पास गोलरक्षक अदितिले खुट्टामुनिबाट छोडेपछि सावित्राले गोललाइनबाट खाली पोस्टमा छिराइन् ।

सुरुबाटै नेपाल हावी हुँदा भारतले खेलमा फर्किने अवसर पाएन । तर खेलको ८४ औं मिनेटमा रतनाबाला देवीले फ्रीकिकमा गोल गर्दै नतिजा २-१ मा झारिन् । अन्तिम समयमा खेलमा फर्किने भारतको प्रयास त्यसपछि सफल हुन सकेन ।

भारतविरूद्धको ऐतिहासिक जितपछि नेपालले उपाधि भिडन्तका लागि स्थान बनाउने सम्भावना अझै बाँकी छ । नेपाल यही प्रतियोगिताको पहिलो खेलमा म्यानमारसँग ३-० गोलले पराजित भएको थियो ।

फाइनलमा पुग्न नेपालले अब अन्तिम खेलमा इरानलाई पराजित गर्नुपर्नेछ । अर्कातिर म्यानमारले भारतविरुद्ध बराबरी अथवा जित निकालेमा पनि नेपाल र म्यानमार फाइनलमा पुग्नेछन् । भारतले म्यानमारलाई हराएमा भने नेपाल बाहिरिने छ । भारतले पहिलो खेलमा इरानलाई १-० गोलले हराएको थियो।

भारतीय फुटबल संघले नेपालको विराटनगरमा आगामी फागुन २८ देखि चैत ८ सम्म हुने पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि हिरो गोल्डप आयोजना गरेको हो।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.