त्रिभुवन राजपथ निर्माण हुनुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडाैं पुर्याउनेमध्येका एक जुक्तबहादुर वाइबाको निधन भएको छ । मकवानपुरको भीमफेदीबाट गाडी बोकेर काठमाडौं लगिँदै (दायाँ) र गाडी बोक्नेमध्येका एक थाहा नगरपालिका—५ तसरका ९३ वर्षीय जुक्तबहादुर वाइबा ।
दमका बिरामी ९३ वर्षीय वाइबाको सोमबार बिहान थाहा नगरपालिका ५ तसरस्थित घरमा निधन भएको हो । उनलाई उपचार गर्न माघ १० मा काठमाडाैं लगिएको थियो । उपचारपछि शनिबार घर ल्याइएको थियो । ‘दमको रोगी हुनुहुन्थ्यो, कम भयो भनेर काठमाडौंबाट ल्याएको तीन दिनमै मृत्यु भयो,’ स्थानीय चमेली वाइबाले भनिन् ।
वाइबा गाडी बोक्न छाडेपछि गाउँमा धामीझाँक्री गरेर बसेका थिए । घरमा आएका बिरामीलाई ढ्याङग्रो ठोकेर झारफुक गरेर पठाउँथे । हिँड्न नसक्ने बिरामीलाई उनीहरूका घरमै गएर सेवा दिन्थे । युवा अवस्थामा उनका काँधमा गाडीको नोल बस्थ्यो, पछि ढ्याङग्रो बस्ने गरेको थियो ।
धामीझाँक्री भए पनि उनलाई गाउँका सबैले गाडी बोक्ने ‘भरिया वाइबा’ भन्ने गर्थे । वाइबा नयाँ पुस्ताका निम्ति जिउँदो इतिहास थिए । अहिले गाडीले मान्छे बोक्छ, त्यतिबेला मान्छेले गाडी बोक्थे भन्ने इतिहासको उनी जीवितपात्र थिए ।
वाइबाले भीमफेदीबाट १६ वर्षको उमेरदेखि गाडी बोक्न सुरु गरेका थिए । नाइकेले उनलाई अग्लो र बलियो देखेर गाउँबाट छानेर लगेका थिए । ६ फिट अग्ला वाइबाले सानाठूला गरेर सयभन्दा बढी गाडी बोकेर काठमाडौं पुर्याएका थिए ।
पहिलो पटक भीमफेदीबाट सानो गाडी नोल लगाएर ८/८ जना गरी ३२ जनाले ७ दिनमा थानकोट पुर्याएको उनलाई सम्झना थियो । भेटको सुरुमै उनी त्यही कुरा सबैलाई सुनाउँथे । त्यतिबेला उनले ५ रुपैयाँ ज्याला पाएका थिए । त्यसमध्ये तीन रुपैयाँ बाटामा खाना र खाजामा खर्च गरे र दुई रुपैयाँ घरमा बुझाएका थिए ।
दुई रुपैयाँ घरमा बुझाउँदा सबै खुसी भएको घटना उनले तीन वर्षअघि सञ्चारकर्मीलाई हाँसी हाँसी सुनाएका थिए । गाडी बोक्दा परालको चप्पल लगाउने बानी परेका वाइबालाई अरू खालका चप्पल र जुत्ता लगाउँदा असजिलो हुने गरेकाले उनी गाउँमा जुत्ताचप्पल लगाउँदैनथे ।
नातिले बजारबाट किनेर ल्याएको प्लास्टिकको चप्पल लगाउँदा वाइबा आँगनमै लडेका थिए । त्यसपछि उनले प्लास्टिकको चप्पल लगाएनन् । परालको चप्पल बुनेर लगाउनलाई नातिहरूले दिएनन् । त्यसैले उनी नाङ्गै खुट्टा हिँडे । गाडी बोक्दा चिप्लिनेडरले सबै भरिया परालको चप्पल लगाउने गर्थे ।
भीमफेदीबाट काठमाडौंसम्म एउटा गाडी बोकेर लैजाँदा चार जोर परालका चप्पल फाट्ने गथ्र्यो । गाडी बोकेर कमाउन थालेपछि उनको विवाह गाउँमा भएको थियो । २०७३ भदौमा सञ्चारकर्मीसँग हाँस्दै भनेका थिए, ‘गाडी बोक्न थालेपछि विवाह गर्न समस्या नै भएन, त्यतिबेला २,४ वटीसँग विवाह गरेको भए पनि हुन्थ्यो, तर त्यसो गरिनँ ।’
वाइबाकी पत्नी ६ वर्षअघि नै बितेकी थिइन् । उनी नातिसँग बस्दै आएका थिए । साना गाडीमा लामा–लामा नोल बाँधेर चार कुनामा ८/८, १६/१६ र २४/२४ तन्नेरीहरू काँधमा बोकेर हिँड्थे । त्यतिबेला भरिया र नाइकेहरूले ८/८ जनाले बोक्ने गाडी ३२ मोडेल, १६/१६ जनाले बोक्ने गाडी ६४ मोडेल र २४/२४ जनाले बोक्ने ९६ मोडेलको गाडी भन्ने गर्थे ।
Comments are closed.