Nepal's First Video FM

योजना आयोगका उपाध्यक्ष वाग्लेद्धारा राजीनामाको घोषणा

588

फागुन ६, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भन्ने आशयका साथ उपाध्यक्षबाट आइतबार राजीनामा गर्ने घोषणा गरेका छन् ।

आफ्नो ६ महिने कार्यकालमा आयोगले सञ्चालन गरेका विकास निर्माणका कार्यक्रम तथा नीतिगत विषयबारे जानकारी दिँदै उनले भने, “प्रधानमन्त्रीज्यूलाई आइतबार भेटेर पदबाट राजीनामा दिने जानकारी गराउँछु । नयाँ सरकार गठन भएका सन्दर्भमा शिष्टाचार स्वरुप आफू पदमा रहिनरहने निर्णय गरेको छु ।”

योजना आयोगका पुनःसंरचना नीतिगत तथा योजना निर्माण एवं कार्यान्वयन, दिगो विकास, आर्थिक सुधार, संघीयतामा आयोगको भूमिका, देशभर विविध विषयमा तथ्यांक संकलन, भूइँचालो जस्ता दैवीविपत्तिको प्रभाव मूल्यांकन, केन्द्रीय तथ्यांक विभागको स्तरोन्नति, राष्ट्रिय गौरवका आयोजनाको शीघ्र कार्यान्वयनलगायत विषयमा आयोगले छ महिनामा उल्लेखनीय काम गरेको बताए ।

नेपालको विकासको भावी कार्ययोजना, राष्ट्रिय विकास स्वयंसेवा, दशवर्षीय विकासको मार्गचित्र, आर्थिक, सामाजिक एवं वातावरणीय उन्नयन, आर्थिक गणना, तथ्यांकमा आधारित नीति तर्जुमा, आधुनिक ऊर्जाको उपयोग जस्ता विषयमा आयोगले तयार पारेका योजनालाई सरकारी अभिलेखमा समावेश गरिएको समेत जानकारी दिए ।

सोही कार्यक्रममा उपाध्यक्ष वाग्लेले आयोगको प्रकाशन ‘१४ वर्षे दिगो विकास लक्ष्य’ पनि सार्वजनिक गरे । गत साउनमा उपाध्यक्ष नियुक्त उनले नेपालको दीर्घकालीन विकास दृष्टिकोण, आर्थिक तथा नीतिगत सुधार, भौतिक पूर्वाधार, संघीयतामा वित्त, तथ्यांकमा आधारित नीतिनिर्माण, विकास कूटनीति सञ्चालन, द्विपक्षीय, बहुपक्षीय विकासका साझेदारसँगको सहकार्य र प्राविधिक एवं वित्तीय सहायता प्राप्तिमा भूमिका निर्वाह गरेका थिए । रासस

You might also like

Comments are closed.