Nepal's First Video FM

राष्ट्रपति भण्डारी अमेरिका भ्रमणमा जाने

70

राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा जाने भएकी छन्।

राष्ट्रपति भण्डारी कमिशन अन द स्टाटस अफ वुमेनको ६३ औं सेसनमा भाग लिन आगामी फागुन २६ गते अमेरिकाको न्युर्योक जाने भएकी हुन्।

मंगलबार पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति भण्डारीको सो भ्रमण दलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्कीलगायत सहभागी हुने जानकारी दिए।

सो सेसनलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। मार्च ११ देखि २२ सम्म न्युयोर्कमा सो कार्यक्रम आयोजना गरिएको छ।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो जेनेभा भ्रमणका क्रममा संयुक्त राष्ट्र संघले नेपालको संक्रमणकालीन न्याय निरुपणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिए।

उनले संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्च आयुक्त मिचेल बेचेलेटले आफूसँगको भेटमा नेपालको संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए।

गत फागुन १३ गते संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको ४० औं बैठकमा सहभागी हुन जेनेभा पुगेका परराष्ट्रमन्त्री ज्ञवालीसँग उच्चायुक्त बेचेलेटले नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिको पनि खुलेर प्रशंसा गरेका थिए।

उनले जेनेभा बसाईको क्रममा परिषद् बैठकमा सहभागी विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गरी नेपालले मानव अधिकारको संरक्षणको क्षेत्रमा पुर्‍याउँदै आएको योगदानबारे जानकारी गराइएको पनि बताए।

नेपाल संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको सदस्य राष्ट्र हो। मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधि मण्डल परिषदको बैठकमा सहभागी भएर गत फागुन १६ गते स्वदेश फर्किएको थियो।

आफ्नो सो भ्रमण सफल रहेको पनि मन्त्री ज्ञवालीको दाबी छ। त्यहाँ बसाईको क्रममा उनले स्वीट्जरल्याण्डमा रहेका गैर आवासीय नेपालीहरूसँग भेट गरी राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आग्रह गरेका थिए।

मुलुकलाई समृद्ध बनाउने अभियानमा आफ्नो ज्ञान, सीप र पूँजी परिचालनका गर्न पनि त्यहाँ रहेका नेपाली समुदायलाई आग्रह गरिएको पनि मन्त्री ज्ञवालीले बताए।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.