फाल्गुन ६, फिल्म ‘कृ’मा समावेश ‘उकालीमा पछिपछि’ बोलको गीत अहिले नेपाल युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ।
फिल्म प्रदर्शनको दोस्रो साता प्रवेश गर्दा शुक्रबार सार्वजनिक गरिएको उक्त गीत ६ लाख ८० हजारमाथि भ्युजसहित ट्रेन्डिङको पहिलो नम्बरमा पर्न सफल भएको हो। सार्वजनिक उक्त गीत पुरानो फिल्म ‘सम्झना’बाट रिमेक गरिएको हो। उक्त गीतको वास्तविक संगीतकार रञ्जीत गजमेर हुन्।
रिमेक गरेर ‘कृ’मा समावेश यस गीतमा अल्मोडा राना उप्रेतीको शब्द, संगीत र स्वर रहेको छ। निकै सुन्दर छायांकनस्थलमा खिचिएको भिडियोमा अनमोल केसी र अदिती बुढाथोकी फिचरिङ छन्।
भिडियोमा अनमोलले अदितीलाई फकाइरहेको देख्न सकिन्छ। भिडियोमा एन्जिला खत्री र विक्रम लामाको नृत्य निर्देशन रहेको छ। सुरेन्द्र पौडेल निर्देशित फिल्ममा अनमोल र अदितीसँगै अनुपविक्रम शाही, कामेश्वर चौरसिया, सरोज खनाल, सुधम सिकेलगायतको मुख्य भूमिका रहेको छ।
सुवास इन्टरटेन्मेन्ट र द सुपर काजोल फिल्म्स’को व्यानरमा निर्मित यस फिल्ममा सुवास गिरी र भुवन केसीको लगानी छ। कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सहनिर्माता श्री पराजुली हुन्। फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ।
Comments are closed.