Nepal's First Video FM

विप्लवको बन्द : ठाउँ ठाउँमा आगजनी

553

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परे पनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् । सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताले बुधबार रातिदेखि नै राजधानीसहित देशका विभिन्न सहरमा बम आतंक सुरु गरेका थिए ।

बन्दअघि बुधबार राति काठमाडौँ र देशका विभिन्न स्थानमा राँके जुलुस पनि निकालिएको थियो । सरकारले प्रतिबन्ध लगाएपछि प्रतिक्रिया जनाउँदै महासचिव विप्लवले केपी–बादल कम्पनीलाई उचित जवाफ दिन आफूहरु तयार रहेको बताएका थिए ।

कहाँ के भयो ?

विप्लवका कार्यकर्ताले बन्दका क्रममा बिहीबार बिहानै देशका विभिन्न स्थानमा सवारी साधन जलाएका छन् । देशका विभिन्न सडक र सहरमा बम राखिँदा सर्वसाधरण त्रसित भएका छन् । ठाउँ ठाउँमा बम राखिएपछि नेपाल प्रहरीको बम डिस्पोजल टोलीको पनि व्यस्तता बढेको छ ।

नवलपरासीमा दुई ट्रकमा आगजनी​

पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराती दुई ट्रकमा आगजनी गरिएको छ। ८/१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका हुन्। काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ।आगलागीबाट ट्रकका टायर पछाडिको भागमा क्षति पुगेको छ। बन्दको पूर्वसन्ध्यामा गरेको आगजनी विप्लव समूहले गरेको आशंका प्रहरीको छ।

यसैबीच विप्लव समहुको नेकपा जनपरिषद्को नामबाट पाल्हीनन्दन गाउँपालिका -६ पडरीमा रहेको ३४ विगाहा जमिनमा झण्डा गाडिएको छ। उक्त जग्गा एक व्यक्तिको नाममा थियो। स्थानीय जनतालाई वर्षौदेखि जोतभोग गर्न दिएको जग्गा थाहा नदिई जालसाक्षी गरेर बिक्री गरेको भन्दै झण्डा गाडेर कब्जामा लिइएको जनपरिषद्का एक जिल्ला नेताले बताएका छन्।

यता पूर्वी नवलपरासीको राजमार्गमा पर्ने जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएको छ। शंकास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवत जावतको व्यवस्था मिलाईएको थियो। बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र ब्याट्री रहेको सुरक्षा निकायले जजाएको छ। विप्लव समूहको बन्दको प्रभाव पूर्वी र पश्चिम नवलपरासीमा पनि परेको छ।

राजमार्गमा नक्कली बम

पूर्वी नवलपरासीको राजमार्गमा पर्ने जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएका छन् । शंकास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवत जावतको व्यवस्था मिलाइएको थियो । बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र व्याट्री रहेको सुरक्षा निकायले जनाएको छ । अरुणखोला बाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बाल्टीमा जुटको बोराले बेरेर माटो र तार राखेर बनाएको शंकास्पद बस्तु विहान ८ बजे हटाएको हो ।

बिहीबार राति १२ बजेदेखि अस्तव्यस्त राजमार्गमा सवारी साधन दुईतर्फी सुचारु भएका छन्। विप्लव समूहको बन्को प्रभाव पूर्वी र पश्चिम नवलपरासीमा पनि परेको छ ।

मकवानपुरमा पनि जलाइयो

थाहा नगरपालिका–४ नयागाउँमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजेको समयमा अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए ।

पालुङ र दामनको जंगलबीच नयाँ गाउँमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको चालकलाई उदृत गर्दै मकवानपुर प्रहरीले जनाएको छ ।

ट्रकमा चालक, सहचालकसहित तीन जना सवार थिए । अगजनीबाट ट्रकको टेलरमा क्षति भएको छ एसपी सिंहले जानकारी दिए । ‘विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द सफल पार्ने नाममा त्रास सिर्जना गराउन आगजनी गरेको हुनसक्ने हाम्रो अनुमान छ’, उनले भने, ‘जिल्लाको अन्य स्थानहरुमा भने दैनिकी सामान्य रहेको छ ।’

कैलालीमा विवाहको गाडीमा आगजनी, विप्लवका तीनजना पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको बन्दको सुदूरपश्चिममा आंशिक प्रभाव परेको छ । सुदूरपश्चिमको राजधानी धनगढी बजारमा मोटरसाईकल, ईरिक्सा र चार पांग्रे सवारी साधन चलिरहेका छन् भने अधिकांस बजार बन्द रहेको छ ।

बुधबार बेलुकी भजनीबाट आईरहेको विवाहको गाडीमा मसुरिया र राजीपुरकोबीच जंगलमा आगो लगाई दिएको छ । म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । आज बिहान पहाडि जिल्लाबाट धनगढीतिर आईरहेका सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले गोदावरी नजिकबाट तीन जना नियन्त्रणमा लिएको जानकारी दिए । उनले सवारी साधनलाई प्रहरीले स्कटीङ गरेर गन्तव्यमा पठाईरहेको बताए । तर धनगढीबाट चल्ने सार्वजनिक यातायात भने पूरै बन्द छ । सुदूरपश्चिम यातायात, मालिका यातायात र कर्णाली यातायातले देशको पुर्वी र पहाडि क्षेत्रको यातायात बन्द भएको जनाएको छ ।

बुटवलमा बम

नेपाल बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द ’विप्लव’ समूहले बुटवलको कालिकानगरमा राखेको बम डिष्पोज गरिएको छ। कालिकाचोकको डिभाइडरमाथि बम राखिएको थियो । बन्द सफल बनाउन राखिएको बम सक्कली नै भएपछि नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको हो । बम राखिएपछि सिद्धार्थराजमार्गमा चलिरहेका निजी यातायातका साधनसमेत रोकिएका छन् ।

You might also like

Comments are closed.