मध्य भियतनामको पहाडी क्षेत्रमा एक जोडी विशाल हात सुनौलो रङको आकाशे पुल समातिरहेको देखिन्छ । यस्तो लाग्छ पहाड स्वयंले आफ्ना हात फिँजाएको हो । ‘मलाई लाग्छ म बादलमा हिँडिरहेको छु,’ हानोईका पर्यटक युङ थाई लिनले भने, ‘यो एकदमै पृथक् छ ।’
भियतनामको बाना हिल्सस्थित गोल्डेन ब्रिज । भियतनामको बाना हिल्समा निर्माण गरिएको काउ भाङ वा ‘गोल्डेन ब्रिज’ ले सञ्चालनमा आएदेखि प्रशस्त पर्यटक आकर्षिक गरिरहेको छ । जुनमा उद्घाटन गरिएको ब्रिजलाई वास्तुकलाको नवीनत कृति मानिएको छ । यसको अनौठो डिजाइन देखेर पर्यटक मुग्ध हुने गरेका छन् ।
हो ची मिन सहरको टीए ल्यान्डस्केप आर्किटेक्चरले डिजाइन गरेको उक्त पैदलयात्रु पुल समुद्री सतहबाट १ हजार मिटर माथि छ । हरिया पहाडका रूखहरूकोटुप्पैटुप्पोमा फैलिएको पुलबाट वरिपरिको अद्भुत परिदृश्य अवलोकन गर्न सकिन्छ । त्यहाँबाट हेर्नलाई केहीले छेक्दैन । ‘भगवान्को विशाल हातले जमिनको एक टुक्रा सुन तान्दै गरेको भावमा यो ब्रिज डिजाइन गरिएको थियो,’ टीए ल्यान्डस्केपका प्रमुख डिजाइनर भु भेत आनले भनेका छन्, ‘यसले आकाशमा पैदल हिँडेको अनुभूति दिन्छ ।’
आफूहरूको डिजाइनले देशी–विदेशी सबैको ध्यान खिँचेको देखेर चकित भएको आनको प्रतिक्रिया छ । भियतनाममा उपनिवेश खडा गर्दा फ्रान्सेलीहरूको प्रमुख नाका रहेको द वा ना हिल्सले गत साल २७ लाख पर्यटक भित्र्याएको थियो ।
ढुंगे रङका तिनै मान्छेका जस्ता विशाल हत्केला अधिकांश पर्यटकको आर्षकणमा परेको भियतनाम नेसनल एडमनिस्ट्रेसन अफ टुरिजमले जनाएको छ । ‘दुई चम्किला, विशला हातहरू असली हात जस्तै देखिन्छन्,’ अर्का पर्यटक ट्र्युअङ लिन थाई भन्छन्, ‘यी हेरेपछि मलाई मान्छेले जे पनि गर्न सक्छन् भन्ने अनुभव भयो ।’
Comments are closed.