छाला रोगको उपचारमा प्रा.डा. अनिलकुमार झा (एके झा) अब्बल नाम हो । उनी डर्माटोलोजी विषय पढाउने नेपालको पहिलो प्राध्यापक पनि हुन् । चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)मा डर्माटोलोजीमा एमडी (डक्टर अफ मेडिसिन) सुरु गर्ने पनि उनै हुन् ।
हाल महाराजगञ्जस्थित डि स्किन हेल्थ एण्ड रिफरल सेन्टरका संस्थापक अध्यक्ष तथा सिनियर कन्सल्टेण्ट डर्माटोलोजिस्टका रुपमा कार्यरत एके झा जोरपाटीको नेपाल मेडिकल कलेजको डर्माटोलोजी र भेनेरियोलोजी विभागका प्राध्यापक पनि हुन् ।
प्रा. डा. झाको स्थायी घर जनकपुर हो । जनकपुरबाटै एसएलसी र आईएस्सी गरेका उनी अलाहबादको मोतीलाल नेहरु मेडिकल कलेजका एमबीबीएस र बनारस हिन्दू विश्वविद्यालय (विएचयू) का एमडी हुन् । उनले डर्माटोलोजी सर्जरीमा एमडी सक्दा केश नपलाए, आँखीभौं काटिए वा खराब भए रौं रोप्ने बायोप्सी पञ्च प्रविधि आइसकेको थियो । १९९५ मा नेपाल आएपछि उनकै पहलमा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा त्यो सेवा भित्रियो ।
अहिले सुन्दा सहज लागेपनि त्यो बेला आईओएममा बायोप्सी पञ्च प्रविधि भित्र्याउन बडा गाह्रो थियो । ‘एक त नयाँ प्रविधि, त्यसमाथि महँगो थियो’, प्रा. डा. झा सम्झन्छन्, ‘फेरि त्यो प्रविधि अपनाएका विरामीलाई बारम्बार अस्पताल धाइरहनुपर्ने बाध्यता थियो । यी कारणहरुले गर्दा सुरुमा धेरै समस्या भयो ।’
जसरीतसरी समस्या झेल्दै नेपालमा यो सेवाप्रति विश्वास बढाएका उनलाई अवरोधहरुले कहिल्यै छाडेन । त्यही क्रममा अवकास पाउने समय पाँच वर्ष बाँकी रहँदै राजिनामा दिएर आईओएम छाड्नुपर्यो ।
Comments are closed.