Nepal's First Video FM

मुख्यमन्त्री भट्ट भन्छन्-‘जनताको अधिकारका लागि शहीदले बलिदानी दिए’

462

फागुन ७, प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको अधिकारका लागि शहीदले बलिदानी दिएको बताएका छन् ।

सोमबार ६८औँ प्रजातन्त्र दिवसको अवसर पारेर धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अधिकारका लागि गरेका विभिन्न आन्दोलन र संघर्ष जनताको अधिकार प्राप्तिका लागि रहेको बताए । उनले शहीदको सपनालाई पूरा गर्नका लागि मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनका दिशामा अगाडि बढेको बताए ।

मुख्यमन्त्री भट्टले सुशासन, भ्रष्टाचार नियन्त्रण, पिछडिएको समुदायलाई मूलधारमा जोड्ने लगायत दूर दराजमा बसेका जनसमुदायलाई सरकारको अनुभूति दिलाउनका लागि प्रदेश सरकारको काँधमा जिम्मेवारी आएको उल्लेख गरे ।

त्यसैगरी, प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले सबै राजनीतिक क्रान्ति सम्पन्न गरिसकेकाले अब मुलुकको समृद्धिका लागि आर्थिक क्रान्ति गर्नुपर्ने जिम्मेवारी काँधमा आएको बताए ।

उनले लोकतान्त्रिक गणतन्त्र तथा प्रजातन्त्रलाई सुदृढ गर्दै समृद्धिको यात्रा अगाडि बढेकाले सबै आ–आफ्नो ओहदामा बसेका महानुभावलाई आ–आफ्नो जिम्मेवारी पूरा गर्न अनुरोध गरे ।

मन्त्रिपरिषद् तथा मुख्यमन्त्री परिषद्को कार्यालयमा आयोजित उक्त कार्यक्रममा प्रदेश नं ७ का उपसभामुख, मन्त्री, प्रदेशसभाका सांसद, उपसभामुख, विभिन्न मन्त्रालयका उच्च पदाधिकारी, प्रहरी प्रमुख, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । रासस

You might also like

Comments are closed.