माघ ९, संघीय बजेट पारित नभएको भन्दै बन्द भएकाे अमेरिकी दूतावास, केन्द्रीय पुस्तकालय र सामाजिक सञ्जाल सेवा मंगलबारदेखि सञ्चालनमा फर्किएको छ।
अमेरिकी राजदूत अलाइना बी टेप्लेजले अमेरिकी कंग्रेसले कोष उपलब्ध गराउने विधेयक पारित गरेको उल्लेख गर्दै दूतावासका सबै कार्य पुनःसञ्चालनमा आएको उल्लेख गरेकी छिन्।
‘अमेरिकी कंग्रेसले कोषसम्बन्धी विधेयक पारित गरेको छ र दूतावास सामान्य सञ्चालनमा फर्किएको छ’, टेप्लेजले ट्विट गर्दै भनेकी छन्, ‘सबैसँग सम्पर्कमा फर्किन पाउँदा मलाई खुशी लागेको छ।’ दूतावासकाे अाधिकारिक ह्यान्डल पनि पुन:सञ्चालनमा अाएकाे छ।
संघीय बजेट माथिल्लो सदन सिनेटबाट पारित हुन नसकिरहेको अवस्थामा मंगलबार कंग्रेसले कोष उपलब्ध गराउने अस्थायी विधेयकमा मञ्जुरी दिएको हो। कंग्रेसको यो निर्णयसँगै काठमाडाैंस्थित अमेरिकी दूतावास सामान्य सञ्चालनमा फर्किएकाे छ।
बजेट पारित नहुँदा संकट सामना गरिरहेकाे अमेरिकी संघीय सरकारका लागि ८ फेब्रुअरीसम्मका लागि आर्थिक संकट अन्त्य भएको छ। त्यसपछि के हुने भन्ने अझै निश्चित छैन। तर डेमोक्र्याट र रिपब्लिकन दुवै पार्टीका सांसदहरु आप्रवासीसम्बन्धी विवादमा सहमति नजिक आएजस्ता देखिएका छन्। कोष उपलब्ध गराउने विधेयकमा डेमोक्र्याटरहरु अडानबाट पछि हटेका छन्। रिपब्लिकन सिनेटरले आप्रवासीसम्बन्धी विषयमा उनीहरुलाई भरोसा दिलाउने प्रयास गरेका छन्।
Comments are closed.