Nepal's First Video FM

आजको राशिफल / वि.सं. २०७६ आषाढ १६ गते सोमबार

68

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
राम्रो/नराम्रो दुबै खालका परिणाम प्राप्त हुने दिन छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । विद्यार्थीहरूको घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ, तर समय निकाल्न धौधौ हुनेछ । गृहिणीहरूले नातागोताको काममा संलग्न हुनुपर्ने छ, तर सरसहयोग गरे पनि असन्तुष्टि बढ्न सक्छ । व्यापारीहरूका लागि केही हदमा राम्रो छ । सामाजिक काममा जस र सम्मान पाउन कडा सङ्घर्ष गर्नुपर्छ ।

शुभरङ्ग : घिउ रङ

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने

के नगर्ने : अनावश्यक खानपान

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । गृहिणीहरूको धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुनसक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कामदारहरूलाई कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् । छात्रछात्राले मन दोधार नबनाउनु होला, नत्र तपाईंले लक्ष्यलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ ।

शुभरङ्ग : सिन्दूरे रातो

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने

के नगर्ने : हडबड र शीघ्रता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
विदेशयात्राको योजनामा हुनुहुन्छ भने काम थाल्न आजको दिन अनुकूल हुनेछ । बाह्रौं चन्द्रमा भएकाले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ, सचेतता अपनाउनु राम्रो हुन्छ । छात्रछात्राले दूरदराजबाट प्रसन्नता र खुसीको समाचार पाउन सक्छन् । गृहिणीहरूलाई परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । कर्मचारीहरूले अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ ।

शुभरङ्ग : सेतो वा बैजनी

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : धर्मराज

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : दान, धर्म, परोपकार

के नगर्ने : रिसराग, उद्वेग र क्रोध

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । छात्रछात्राले पठनपाठन र प्राज्ञिक क्षेत्रमा राम्रो उन्नति गर्नसक्ने समय छ । राजनैतिक र सामाजिक कार्यकर्ताका लागि पनि अनुकूल समय देखिन्छ । गृहिणीहरूका लागि घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । विश्वासको वातावरण बन्नेछ ।

शुभरङ्ग : कालो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : घिउरङ्ग/क्रिम

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने

के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कर्म क्षेत्रको चन्द्रमा कमजोर भएकाले अल्छीलाग्दो दिन छ, आज सबैले धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन तर पनि आम्दानीमा कमी आउने छैन । गृहिणीहरूका लागि पारिवारिक जीवनमा असमझदारी बढ्ने वा समय दिन नसकिने समय छ । अभिभावकवर्ग, गुरुजन र ठूलाबडासँगको सम्बन्धमा चिसोपन बढ्न सक्छ । पैतृक सम्पत्ति र अचल सम्पत्तिमा विवाद हुनसक्छ । गर्नैपर्ने काममा समेत जाँगर चल्ने छैन, यद्यपि बन्दव्यापारमा बेफाइदा हुँदैन । पारिवारिक चाप बढ्नाले काममा बाधा पुग्नसक्छ । नयाँ पेसा र बन्दव्यापारमा लगानी नगर्नु राम्रो हुन्छ । शत्रु र प्रतिस्पर्धीहरूको चलखेल बढ्ने छ ।

शुभरङ्ग : ध्वाँसे

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : महालक्ष्मी

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने

के नगर्ने : लोभ र मोह

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज परिश्रम गरेभन्दा राम्रो परिणाम आउन सक्ने भाग्यमा चन्द्रमा भएको दिन हो । अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । सामाजिक र परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । गृहिणीहरूले परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्ने छ । दाजुभाइ र बन्धुबान्धवको सद्भाव र सहयोग प्राप्त हुनेछ । कामको दायित्व थपिने सम्भावना छ । छात्रछात्राका लागि कर्मप्रतिको समर्पणभाव बढ्ने छ ।

शुभरङ्ग : सेतो वा पहेंलो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : कुलगुरु/शिवजी

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग

के नगर्ने : आडम्बर र ढोंगीपन

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आयुक्षेत्रमा चन्द्रमा भएकाले मन डराउन सक्छ, तर समस्यादेखि नभाग्नु होला, सफलता तपाईंको मुट्ठीमा छ, कुनै काम नगरेमा वा अवसरलाई चिन्न नसक्दा पछुतो हुनसक्छ । तपाईंको राशिमा शुभग्रहको बल प्राप्त भएकाले धन, धर्म र भाग्यबलमा अभिबृद्धि हुनेछ । स्वास्थ्य पक्षमा देखिएको कमजोरी हट्दै जानेछ । झिनामसिना र सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ, तर बाटो काट्दा वा गाडी हाँक्दा लापरबाही नगर्नु होला ।

शुभरङ्ग : कालो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : कालभैरव

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्

के नगर्ने : असुरक्षित यात्रा

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुन सके पनि घरायसी मामिला र प्रेमसम्बन्धका दृष्टिले कमजोर दिन छ । पारिवारिक जीवनमा निरसता आउने सम्भावना छ, त्यसैले परिवारजनका भावनालाई समेटेर अघि बढ्नु र प्रेमजीवनलाई सन्तुलनमा राख्ने प्रयास गर्नु राम्रो हुनेछ । कर्मचारी र कामदारले मानप्रतिष्ठा र उन्नति/प्रगतिका लागि दौडधूप गर्नेछन् । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले हाँके/ताकेका काममा सफलता मिल्नेछ । छात्रछात्राका लागि मनोरञ्जन र खेलवाडले कर्मक्षेत्रमा प्रभाव पार्नसक्छ । मौसमी रोगको प्रकोप छ, आहारविहारमा ध्यान दिनु राम्रो हुन्छ । आम्दानीका दृष्टिले ठीकैको दिन रहने छ ।

शुभरङ्ग : गुलाबी वा सिन्दूरे

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवर्पावती

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : परिवारमा अधिकतम समय दिने

के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । छात्रछात्राको मनमा वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राको सोच पलाउन सक्छ । घरायसी र प्रेमसम्बन्धमा देखिएका तनाव र समस्याको अन्त्य हुने सङ्केत छ, गृहिणीहरूका लागि जीवनसाथी र प्रेयसीसितको दूरीमा क्रमशः कमी आउने छ । स्वास्थ्य अनुकूल देखिन्छ ।

शुभरङ्ग : हलुका सेतो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : भगवान् शङ्कर

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने

के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गृहस्थीहरूका लागि सन्ततिका क्रियाकलापमा सामान्य समस्या देखिन सक्छन्, उनीहरूका लागि लगानी बढ्न सक्छ । विद्यार्थीहरूलाई जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्ने छ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । शैक्षिक, प्राज्ञिक, बौद्धिक र चिन्तनमूलक क्रियाकलापमा ध्यान दिने समय आएको छ, व्यवहारिक कारणले दिउँसोसम्म समय निकाल्न गाह्रो भए पनि दिन ढल्दै जाँदा समय अनुकूल हुँदै जानेछ । प्रायः सबैका निमित्त पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ । आज जोसँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नुपर्छ ।

शुभरङ्ग : हलुका नीलो वा हरियो

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने

के नगर्ने : बुद्धिको दुरुपयोग

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
चौथो चन्द्रमाको प्रभावले आज कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने छ । गृहिणीहरूले घरगृहस्थीमा धेरै समय खर्चनु पर्नेछ । वैदेशिक रोजगारी गर्नेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । घरका बुजुर्ग सदस्यहरूको स्वास्थ्यमा आकस्मिक ढंगले समस्या आउनसक्छ । आम गृहस्थीमा छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । त्यस्तै पुरानो लेनदेन र ऋणकारोवारका कारण चिन्ता बढ्ने दिन छ, डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना समेत छ ।

शुभरङ्ग : रातो वा पहेंलो

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : भगवती दुर्गा

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : पति/पत्नी, प्रेमी/प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने

के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
समाजमा सम्मानित र चर्चित व्यक्तिहरूको साथ सहयोग प्राप्त हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । त्यस्तै गृहिणीहरूका लागि सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्ने समय छ । आमव्यक्तिले राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन/दिन सकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ ।

शुभरङ्ग : गाढा नीलो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : गणेश

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण

के नगर्ने : घमण्ड

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.