Nepal's First Video FM

सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने

114

अब निजामती कर्मचारीहरुले सामूहिक राजीनामाकाे ध्वाँस दिएर सरकारलाइ धम्क्याउन नसक्ने भएका छन् । कसैले त्यसरी सामूहिक राजीनामा दिएमा स्वीकृत हुने भएको छ । सरकारले हालै ल्याएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सो प्रावधान राखिएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा सो विधेयकमाथि दफावार छलफल भई उक्त व्यवस्थामा सहमति जुटेको हो ।

आज बसेको राज्य व्यवस्था समितिको बैठकले सो व्यवस्था पारित गरेको हो । विधेयकको दफा १२१ मा विभिन्न कारणले निजामती सेवाका कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्नसक्ने व्यवस्था गरिएको छ । उक्त प्रावधानमाथि सत्तारुढ दल नेकपाका सांसदले समर्थन जनाएका थिए । तर प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले भने असहमति प्रकट गरेका छन् । यद्यपि मतविमतका बीच उक्त व्यवस्था समितिबाट पारित गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डितले सो प्रावधानको पक्षमा मत राखेका थिए । उनले ट्रेड युनियन संस्थागत वा चिकित्सकबाट विगतमा सरकारलाई सामूहिक राजीनामा दिने चेतावनी आउने गरेको प्रसंग सुनाउँदै भने- ‘सामूहिक राजीनामा दिने कुरा आउँछ भने त्यस्तो अवस्थामा राजीनामा स्वीकृत गर्न पनि नसक्ने र काम गर्न पनि अप्ठेरो हुने भएकाले यसको आवश्यकता महसुस गरिएको हो ।’

मन्त्री पण्डितको तर्कमा सत्तारुढ दलका सांसदहरुले सहमति जनाए । नेकपाका सांसद तथा पूर्व मन्त्री जनार्दन शर्माले सामूहिक राजीनामा दिने कर्मचारीको राजीनामा स्वीकृत गर्नु जायज रहेको बताए । यसैगरी नेकपाकै अर्का सांसद पम्फा भुसालले पनि राज्य निरीह हुने अवस्था अन्त्य गर्नका लागि यो व्यवस्था गर्नुपरेको बताइन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि भने, सामूहिक राजीनामा कर्मचारीहरुको मौलिक हक भएकाले त्यो राज्यले स्वीकृत गर्न सक्ने तर्क गरे ।

विगतमा कर्मचारीका सवालमा सामूहिक राजीनामाबारे स्पष्ट व्यवस्था थिएन । पटकपटक सरकारी चिकित्सक तथा कर्मचारीहरुले आन्दोलन गर्दै सामूहिक राजीनामा दिने भन्दै सरकारलाई झुकाउन धम्की दिने र सेवा नै ठप्प पार्ने गरेका थिए । सोही कुरालाई ध्यानमा राखी नयाँ व्यवस्था गरिएको हो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.