Nepal's First Video FM

ठेकेदारको ढिलासुस्तीले पुल अलपत्र

391

खोटाङ – ठेकेदार कम्पनीले खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट पुल निर्माणको काम अलपत्र पारेको छ। २०७६ साल असार २९ गतेभित्र सम्पन्न गर्ने गरी २०७३ साल असार ३० गते सम्झौता गरिएको खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसी पुल ठेकेदारको कारण अलपत्र परेको हो।

२०७४ साल भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शिलान्यास गरेको २०० मिटर लम्बाइको उक्त पुलको काम हालसम्म नौ प्रतिशत मात्र भएको पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानका योजना प्रमुख कैलाश शाहले बताए।

धाप्लाङघाटमा खोटाङ र उदयपुरतर्फ वर्षौंअघि कच्ची सडक बने पनि हालसम्म पुल नहुँदा झोलुंगे पुल प्रयोग हुँदै आएको छ। ठेकेदार कम्पनी रसुवा एसएनएस पप्पु जेभीले गत चैतदेखि नै आफ्नो सामान उठाएर निर्माणस्थल छाडेको बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष गोमा मगरले बताइन्।

‘ठेकेदारले चैतदेखि नै सामान उठाएर पुलको काम अलपत्र पारेर छाडेको हो,’ उपाध्यक्ष मगरले भनिन्। भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने पुल र धाप्लाङघाटको पुल ५० करोड १४ लाख ६० हजारको लागतमा पूरा गर्ने गरी रसुवा एसएनएस पप्पु जेभीले एउटै ठेक्कामार्फत जिम्मा लिएको हो। एकै दिन शिलान्यास गरिएको रानीटार र धाप्लाङघाट पुलको प्रगति भने उस्तै निराशाजनक देखिएको पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानका योजना प्रमुख शाहले बताए।

काम अलपत्र पारेपछि ठेकेदार कम्पनीलाई पटक–पटक पत्राचार गरेर ताकेता गरे पनि जवाफ नआएको उनले बताए। हाल धाप्लाङघाट पुलको उदयपुरतर्फ नदीकिनार र नदीबीचमा पिलरको केही भाग मात्र ठडिएको देखिन्छ। खोटाङतर्फ जग खन्नेबाहेक प्रगति नभएको स्थानीय बताउँछन्।

जिम्मेवारीको काममा ठेकेदार गैरजिम्मेवार देखिएपछि बिहीबार बैंकलाई एड्भान्स रकम फिर्ताका लागि पत्राचार गरिएको पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानले जनाएको छ। अझै पनि ठेकेदारले तत्परता नदेखाए ठेक्का तोड्ने प्रक्रिया अपनाइने शाहले जनाए।

You might also like

Comments are closed.