Nepal's First Video FM

स्थानीय तह निर्वाचनपछिभीमदत्त नगरपालिकाको आम्दानी दोब्बरले वृद्धि

491

कञ्चनपुर- स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाको आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको छ। आर्थिक वर्ष २०७५÷७६ को असार मसान्तसम्म नगरपालिकाको आन्तरिक राजश्व ११ करोड ५१ लाख रुपैयाँ पुगेको छ। स्थानीय तह निर्वाचन अघिसम्म नगरपालिकाको आन्तरिक आम्दानी पाँच करोड रुपैयाँ थियो।

निर्वाचनपछिका दुई वर्षमा आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको हो। नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनपछि दुई वर्षमा नगरपालिकाको पाँच करोड रुपैयाँको आन्तरिक राजश्व दोब्बर बढीले वृद्धि भएको बताए। गत आवको आम्दानीका आधारमा चालू आवमा १३ करोड २४ लाख रुपैयाँ आन्तरिक राजश्व सङ्कलनको लक्ष्य राखिएको छ।

पाँचौँ नगरसभाबाट नगरपालिकाले एक अर्ब २२ करोड रुप्ैयाँको बजेट पारित गरिएको थियो। गत वर्ष सेवा शुल्कबाट सबैभन्दा बढी पाँच करोड ३२ लाख रुपैयाँ राजश्व सङ्कलन गरिएको छ। सेवा शुल्कबाट चार करोड २७ लाख रुपैयाँ आम्दानीको लक्ष्य राखिएको थियो। तीन करोड २६ लाख रुपैयाँ लक्ष्य राखिएको रोयल्टीबाट चार करोड ७७ लाख रुपैयाँ आम्दानी गरिएको छ।

नक्सापासबाट एक करोड २० लाख रुपैयाँ, बहालकर ५४ लाख ४७ हजार रुपैयाँ आम्दानी गरिएको छ। गत वर्ष स्थानीय कर दुई करोड ४९ लाख रुपैयाँ, व्यवसाय कर ९२ लाख रुपैयाँ, सम्पत्ति कर ८२ लाख रुपैयाँ, दस्तुर दुई करोड ४५ लाख रुपैयाँ सङ्कलन गरिएको थियो।

नगरपालिका राजश्व परामर्श समितिका संयोजक उपनगरप्रमुख सुशीला चन्द सिंहले नगरपालिकाले राजश्व सुधारका लागि कार्ययोजना निर्माण गरिएको बताए। सोहीअनुरुप राजश्व सङ्कलनमा वृद्धि भएको उनको भनाइ छ।रासस

You might also like

Comments are closed.