Nepal's First Video FM

लमजुङका किसानलाई अलैँची टिप्न र सुकाउन भ्याइनभ्याइ, अलैँचीको ‘ग्रेडिङ’ ‘प्याकेजिङ’मा ध्यान दिन आवश्यक

73

लमजुङ – यतिबेला लमजुङका अलैँची उत्पादक किसानलाई अलैँची टिप्न, सुकाउन भ्याइनभ्याइ छ । उनीहरु भदौको पहिलो साताबाट अलैँची टिप्न जुटेका हुन् ।

७ सय मिटरदेखि १२ सय मिटर उचाइसम्ममा लगाइएका अलैँची टिप्न किसान जुटिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, अलैँची जोन सञ्चालक समिति लमजुङका संयोजक अजय तामाङले बताउनुभयो ।

‘अहिले लमजुङका किसान अलैँची टिप्न, सुकाउन जुटिरहेका छन् । धेरै किसानले अलैँची टिपी सकेका छन्,’ उहाँले भन्नुभयो, ‘जिल्लाको ७ सय देखी १२ सय मिटर उचाइसम्ममा लगाइएका अलैँची किसानले टिपेका हुन् ।’

उहाँका अनुसार ताराचोक शेरा, ङादी, खुप्लिङ, घाम्राङबेसी लगायतका ठाउँका किसानले अलैँची टिप्दै छन् ।

७ सय देखि १२ सय मिटर उचाइसम्म लगाइएका अलैँची भदौ मसान्तसम्ममा किसानले टिपिसक्छन् भने १२ सय मिटर देखिमाथि उचाइमा लगाइएका अलैँची किसानले असोज पहिलो साताबाट टिप्न सुरु गर्छन् ।

लमजुङका किसानले डम्बरसाइ, गोलसाइ, भर्लाङ्गे र साउने जातका अलैँची लगाउँदै आएका छन् ।

यसवर्ष जिल्लामा अलैँची उत्पादन बढ्नुका साथै विगतको वर्षको तुलनामा यस वर्ष अलैँचीले राम्रो मूल्य पाउनसक्नेमा किसान आशावादी छन् ।

गएको वर्ष जिल्लामा ७ सय ५० क्विन्टल अलैँची बिक्री भएको थियो । अहिले जिल्लामा अलैँचीको क्षेत्रविस्तार भएको छ । अलैँची जोन सुरु हुँदा ६ सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएकोमा अहिले १२ सय हेक्टर क्षेत्रफलसम्ममा अलैँची खेती विस्तार भएको छ ।

गएको वर्ष किसानले अधिकतम ७ सय ५० रुपैयाँसम्ममा अलैँची बिक्री गरेका थिए ।

‘अलैँचीका हव मानिने जिल्लामा पनि अलैँची उत्पादन घट्दो छ । उत्पादन घटेपछि माग बढ्छ र उत्पादनले मूल्य पाउँछ,’ अलैँची उतपादक किसान समेत रहनुभएका तामाङले भन्नुभयो, ‘यस वर्ष लमजुङमा उत्पादन पनि बढ्ने देखिन्छ । उत्पादित अलैँचीले राम्रो मूल्य पाउन सक्छ ।’

अलैँची राम्रोसँग सुकाउनुका साथै ग्रेडिङ, प्याकेजिङमा किसानले उचित ध्यान दिई अलैँचीको गुणस्तर कायम गर्न सकेमा अलैँचीले राम्रो मूल्य पाउन सक्ने संयोजक तामाङले बताउनुभयो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.