फागुन ९, प्रदेश नं २ अन्तर्गत बाराको औराहामा निर्माण हुन लागेको नेपाल सरकारको गौरवशाली आयोजना ‘विशेष आर्थिक क्षेत्र’ सेजको निर्माण तीव्र रुपमा अगाडि बढेको छ ।
स्थानीय तहको निर्वाचनसँगै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन पश्चात चौतर्फी दबाब सिर्जना भएपछि सेजको निर्माण तीव्र रुपमा अगाडि बढाइएको हो ।
सेजको लागि छु्याइएको जग्गामा पहिलो चरणमा पर्खाल निर्माण गरिएको छ । अहिले दोस्रो चरण अन्तर्गत सेजको लागि आवश्यक प्रशासनिक, बैँक, बाल संरक्षण भवन, भन्सार, हुलाक भवन तथा चार लेनको चार वटा सडक निर्माण थालिएको छ ।
सेजभित्र दर्जनौँ उद्योग स्थापना हुने भएकाले आम सडकको तुलनामा टिकाउ एवं पूर्ण क्षमताको सडक बनाउन थालेको कर्मचारी दामोदर विडारीले बताए ।
चार लेनको सडकको मध्य भागमा इँटाको पर्खाल लगाई वृक्षरोपण गरिने उनले बताए । सरकारले सो आयोजना घोषणा गरेको करिब दुई दशक बित्न लाग्दासमेत अहिलेसम्म दोस्रो चरणको काम अगाडि बढ्न सकेको थिएन ।
चालु आवमा बजेट विनियोजनसँगै काम तीव्र रुपमा अगाडि बढाएकाले तोकिएको समयभित्र काम पूरा हुने सो कार्यमा संलग्न इञ्जिनियर दिनेश न्यौपानेले बताए ।
पहिलो चरण अन्तर्गत ८ सय ३३ बिगाहा क्षेत्रफलमा साना मझौला तथा ठूला गरी एक हजार दुई सय उद्योग स्थापना गर्ने लक्ष्य छ । यसवर्ष विशेष आर्थिक क्षेत्र सेजका लागि ८४ करोड बजेट छुट्ट्याइएको छ ।
वैदेशिक वस्तुको आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनप्रति आत्मनिर्भर बनाउनुको साथै बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्ने उद्देश्यले सरकारले उक्त योजना अगाडि बढाएको हो । रासस
Comments are closed.