Nepal's First Video FM

‘सिद्धबाबा’ आईसीयूबाटै प्रहरीकाे नियन्त्रणमा

522

करणीको आरोप लागेका कृष्णराज गिरी उर्फ कृष्णदासजी महाराज (सिद्धबाबा)लाई प्रहरीले एकाबिहानै नियन्त्रणमा लिएको छ । प्रहरीकाे टाेलीले उनलाई अस्पतालको आईसीयूबाटै नियन्त्रणमा लिएको हो ।

बिरामी भएकाे बहाना बनाएर विराटनगरस्थित विराट नर्सिङ होमकाे आइसीयूमा रहेका ‘सिद्धबाबा’लाई सोमबार बिहान चार बजे सुनसरीका डीएसपी विनोद शर्माको नेतृत्वमा गएकाे प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कृष्णदासलाई एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्‍याइएको छ । दिउँसो पक्राउ गर्दा बाबाका समर्थकको भीड लाग्ने र अवरोध सिर्जना हुन सक्ने अड्कल गरी प्रहरीले छापामार शैलीमा एकाबिहानै पक्राउ गरेकाे बताइएकाे छ ।

करणीको आरोप लागेका सिद्धबाबा हृदयघात भएको भन्दै विराट नर्सिङ होममा भर्ना भएका थिए । आफ्नै महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप उनीमााथि लागेकाे छ ।

काठमाडौंबाट चतराधाम पुगेकी एक महिला अनुयायीलाई गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् ।

उजुरी दर्ता भएपछि कृष्णदासले महिलालाई गरेको फोन रेर्कडमा पटक-पटक आँफूबाट गल्ती भएकाले क्षमा माग्दै कारवाही रोक्न आग्रह गरिरहेको अडियाे रेकर्ड न्युज २४ लाइ प्राप्त भएकाे छ । पीडित महिलाको उजुरीपछि कृष्णदास बिरामी भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा भर्ना भएका हुन् ।

जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा विगतदेखि कहिले दोहोरो नागरिकता त कहिले सार्वजनिक जग्गा मिचेको लगायत विभिन्न विवादमा तानिँदै आएका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.