Nepal's First Video FM

विदेशी र नेपालीलाई हवाई भाडा समान बनाइन्छ

459

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी र नेपालीका लागि भाडादर समान बनाइने बताएका छन् । पोखरामा जारी लिट्रेचर फेस्टिवलमा भाग लिन पुगेका मन्त्री भट्टराईले एक अन्तर्क्रियामा बोल्दै यस्तो बताएका हुन् ।उनले भाडादर समान गराउन आफू विमान सेवा कम्पनीहरुसँग छलफलमा रहेको जानकारी दिए ।

‘म सबैलाई सहमतिमा ल्याएरै समान भाडादर कायम गर्ने योजनामा छु,’ मन्त्री भट्टराईले भने, ‘संसारका कुनै पनि मुलुकमा स्वदेशी र विदेशीका लागि फरक–फरक भाडादर हुँदैन र नेपालमा पनि हुनेछैन ।’

कार्यक्रममा एक सहभागीले मन्त्री भट्टराईलाई ‘कसको सेटिङमा विदेशीलाई बढी भाडा असुल्ने कार्यविधि बनाउनुभयो ?’ भनी सोधेका थिए । जवाफमा उनले आफूले यस्तो कार्यविधि नबनाएको उल्लेख गर्दै कसले बनाएको भनेर इतिहास खोतल्न सुझाव दिए ।

यसअघि मन्त्री भट्टराईले एक कार्यदल गठन गरेर हवाई भाडामा लिएको दोहोरोपनबारे अध्ययन गराएका थिए । कार्यदलको अध्ययनअनुसार नेपालीको तुलनामा विदेशी नागरिकले करीव दोब्बर मूल्य तिरेर नेपालमा हवाई यात्रा गर्नपेरेको छ । यसले नेपाल महंगो गन्तब्यका रुपमा समेत स्थापित भइरहेको छ । विदेशीका लागि लिइने महंगो शूल्क हटाएर समान बनाउन सरकारद्वारा गठित कार्यदलले सुझाव दिएको छ ।

हवाई उद्योग तथा एयरलाइन्सहरुको अन्तर्राष्ट्रिय भाडादर निर्धारण बजारको माग र आपूर्तिले गर्ने भएकाले राष्ट्रिय हवाई भाडादरमा पनि सोही नीति अवलम्बन गर्नुपर्ने सुझाव कार्यदलको रहेको छ । सरकारले पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा हवाईका विविधि विषयमा सुझाव दिन कार्यदल गठन गरेको थियो । कार्यदलले डलर फेयर हटाएर समान भाडादर कायम गर्न सुझाव दिएको हो ।

विदेशी कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थामा कार्यरत कूटनीतिक तथा विदेशी नागरिकले समेत असमान भाडादरमा चासो राख्ने गरेका छन् । नेपालले भ्रमण वर्ष मनाइरहेको सन्दर्भमा डलर फेयर घटाउने घोषणा गरी पर्यटकलाई प्याकेज दिन सकिनेबारे पर्यटन व्यवसायीले माग गर्दै आएका छन् । तर, वायुसेवा संचालक भने डलर फेयर हटाउन नहुने पक्षमा छन् । त्यसबाट मुनाफा घट्ने र सेवा संचालनमै कठिनाई हुने दावि कम्पनीहरुको रहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.