प्रतिनिधि सभाको सभामुखका लागि पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच सभामुखको उम्मेदवार छान्नेबारे छलफल भएको हो ।
छलफलमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र पूर्वसुभामुख सुवास नेम्वाङमध्ये एक जनालाई सभामुख बनाउनेगरी छलफल भएकाे बताइएको छ । यसअघि पूर्व माओवादी खेमाका अग्निप्रसाद सापकोटाको विषयमा पनि चर्चा थियो ।
नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा पुस ११ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको थियो । सभामुख उम्मेदवारको टुंगो लगाएमा भोलि बस्ने प्रतिनिधि सभा बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ ।
सभामुखको उम्मेदवारको टुंगो लागेपछि मात्र उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने बताइएको छ ।
संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिइ । त्यसयता प्रतिनिधिसभा सभामुखविहीन छ ।
Comments are closed.