Nepal's First Video FM

बजेट खर्च गर्न प्रदेशलाई ‘सकस’

307

वित्तीय संघीयताको अभ्यास गर्दै प्रदेश सरकारहरूले दुई बजेट पेश गरिसके पनि बजेटमा विनियोजित रकमको प्रभावकारी खर्च गर्न भने असफल देखिएका छन् । चालू आर्थिक वर्ष प्रदेश सरकारका लागि बजेट निर्माण र कार्यान्वयनका हिसाबले दोस्रो वर्ष हो । तर, दोस्रो वर्षमा पनि प्रदेश सरकारहरू बजेट कार्यान्वयनमा कमजोर देखिएका छन् । चालू आवको पहिलो ६ महीनामा सातै प्रदेशको कुल खर्च मात्र १२ प्रतिशतको हाराहारीमा छ ।

कुल २५९ दशमलव २८ अर्बको बजेट ल्याएका सातै प्रदेशको खर्च पहिलो ६ महीनामा कुल खर्च मात्र २९ दशमलव ४१ अर्ब रहेको छ । त्यसमा पनि पूँजीगत खर्चको अवस्था निराशाजनक रहेको छ ।

पहिलो ६ महीनाको तथ्यांकले सबैभन्दा बढी खर्च गर्नेमा प्रदेश ५ अगाडि रहेको देखाउँछ । यस प्रदेशले चालू आवको पूर्वाद्र्धमा करीब १९ प्रतिशत खर्च गरेको छ भने प्रदेश १ ले १६ प्रतिशत तथा गण्डकी प्रदेशले १५ प्रतिशत खर्च गरेका छन् । सुदूरपश्चिम र बागमती प्रदेशको खर्च १० प्रतिशतको हाराहारीमा छ भने प्रदेश २ र कर्णाली प्रदेशको खर्च १० प्रतिशतभन्दा पनि कम छ ।

संघीय संरचनामार्फत अधिकार प्रत्यायोजन भनिए पनि संघ र प्रदेश सरकारसँग कतिपय विषयमा समन्वय हुन नसक्नु, बजेट खर्च गर्न केन्द्रबाटै अंकुश लगाइनु, कर्मचारी तथा प्राविधिकको पर्याप्त व्यवस्था अझै नहुनु, पटकपटक कर्मचारीको सरुवाजस्ता कारणले बजेट खर्च गर्न नसकिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरू बताउँछन् ।

प्रदेश नम्बर २ का आर्थिक मामिला मन्त्री विजय यादवका अनुसार बजेट खर्च गर्न विनियमावली नै बाधक भएको बताए । ‘विनियमावली संशोधन नभएसम्म प्रदेशको बजेट खर्च राम्रो हुने अवस्था छैन, केन्द्रसँग बारम्बार गुहारिरहेका छौं, तर हाम्रो माग सुनिएको छैन,’ उनले बताए । उनका अनुसार बजेट कार्यान्वयन कर्मचारीमा निर्भर हुने भएकाले कर्मचारीको बारम्बार सरुवाले समग्र आयोजना प्रभावित हुन पुग्छ ।

दक्ष कर्मचारी तथा प्राविधिक अभाव, कानून तथा योजना कार्यान्वयन गर्ने एकाइ तल्लो तहसम्म स्थापना नभएका कारण पनि बजेट खर्च प्रभावकारी हुन नसकेको कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाको भनाइ छ । उनका अनुसार कतिपय विकास आयोजना अघि बढाउन अध्ययन, बोलपत्रलगायत दस्तावेजको तयारीमा धेरै समय लाग्ने भएकाले आउँदो ६ महीनामा मात्रै विकासका कामले गति लिनेछ ।

उता, सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा आप्mनो प्रदेशले यस आवमा बजेट कार्यान्वयनमा सुधार ल्याएको बताउँछन् । ‘गत आवको पहिलो ६ महीनामा १ दशमलव ४१ प्रतिशत मात्र पूँजीगत खर्च गर्न सकेका थियौं । चालू आवको सोही अवधिमा यो १० प्रतिशत पुग्न सफल भएको छ,’ उनले बताए । अझै पनि आवश्यक कानून र संरचना बनिनसकेको बताउँदै बोहराले भने, ‘पर्याप्त कर्मचारी नरहेको अवस्थामा यो नतीजा हाम्रा लागि उत्साहजनक हो ।’

आर्थिक अभियनबाट शाभर

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.