माघ १० , धनगढी प्रिमियर लिग (डिपिएल)–२ को दोस्रो संस्करणको रणनीतिक खेलाडी, टिम र मालिक घोषणा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत आगामी चैत १९ गतेबाट अर्काे वर्षको वैशाख १ गतेसम्म हुने प्रतियोगिताको रणनीतिक खेलाडी, टिम र मालिकको सोमबार घोषणा गरेको हो ।पहिलोपटक डिपिएल खेल्न लागेको महेन्द्रनगर युनाइटेडको रणनीतिक खेलाडीमा विनोद भण्डारी रहेका छन् । डिफेन्डिङ च्याम्पियन टिम चौराहा धनगढीको रणनीतिक खेलाडीमा सोमपाल कामी रहेका छन् । सिवाइसी अत्तरियामा दिपेन्द्रसिंह ऐरी, रुपन्देही च्यालेन्जर्समा शक्ति गौचन, काठमाडौं गोल्डेन्समा ज्ञानेन्द्र मल्ल र बिराटनगर किङ्सको रणनीतिक खेलाडीमा राष्ट्रिय टिमका समेत कप्तान रहेका पारस खड्का रहेका छन् । रणनीतिक खेलाडीहरुको मुल्य कम्तीमा दुई लाख भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा ६ शहरका ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । यसपटक प्रतियोगितामा महेन्द्रनगर युनाइटेड नयाँ टोलीको रुपमा रहेको छ । प्रतियोगितामा अन्य पाँच टोल भने यथावत रहेको आयोजकले जनाएको छ । महेन्द्रनगर युनाइटेड कञ्चनपुर आइकोनिकको स्थानमा आएको हो ।
डिपिएलको अक्सन फागुन ९ गते हुनेछ । प्रत्येक टिमले अक्सनबाट १२ खेलाडीका लागि ११ लाख खर्च गर्न पाउनेछन् । यस्तै प्रत्येक क्लबले २ जना विदेशी खेलाडी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी अनिवार्य राख्नुपर्ने आयोजकले मापदण्ड तोकेको छ ।
अक्सनका लागि खेलाडीहरुलाई चार विधामा राखिएको छ । ‘ए’ वर्गका खेलाडीको न्युनतम मुल्य १ लाख र अधिकतम मुल्य १ लाख ५० हजार राखिएको छ । ‘बी’ वर्गका खेलाडीहरुको न्युनतम मुल्य ५० हजारदेखि अधिकतम मुल्य १ लाख तोकिएकोृ छ । ‘सी’ वर्गका खेलाडीको न्युनतम मुल्य २५ हजारदेखि ७५ हजार र ‘डी’ वर्गका खेलाडीको मुल्य २० हजारदेखि ४० हजारसम्म राखिएको छ ।
दोस्रो संस्करणको डिपिएलको विजेताले २५ लाख नगद पाउनेछन् । त्यस्तै, उपविजेताले १० लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख नगद प्राप्त गर्नेछन् । गतवर्षको विजेता टिम चौराहा धनगढीले १५ लाख र उपविजेता विराटनगर किंग्सले ७ लाख प्राप्त गरेका थिए । प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले १० हजार र म्यान अफ द सिरिज हुनेले टिभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछन् । त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार पाउने छन् ।
टि–२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा पत्येक टिमले अन्य टिमसँग १–१ खेल खेल्ने छन् । शीर्ष चारमा पर्ने टिम प्लेअफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमबीचको खेलबाट विजेता टिम फाइनलमा पुग्ने छ । पराजित हुने टिम तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छन् ।
Comments are closed, but trackbacks and pingbacks are open.