कोरोना भाइरसको कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्न असर
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका रन वे का लागि चाहिने लाइट चीनमै अड्किए
काठमाण्डौ – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका रन वे का लागि चाहिने लाइट चीनमै अड्किएका छन् । रन वे को लागि चाहिने लाइट सबैको उत्पादन नभइसकेको र बनिसकेका लाइट पनि नेपाल आउन सकेका छैनन् । विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कम्पनीले कोरोना भाइरसको सङ्क्रमणको कारण रन वे लाइट चीनमै अड्किएको जानकारी दिएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो ।
‘अहिलेसम्म केही लाइट बनेर प्याकिङको चरणमा रहेको ठेकेदार कम्पनीले जानकारी दिएको छ, केही भने उत्पादनकै चरणमा रहेका छन्, तर कोरोना भाइरसको कारण नेपालसम्म ल्याउन नसकिएको उसको भनाइ छ’ आयोजना प्रमुख प्रवेश अधिकारीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
पछिल्लो पटक चौथो पटक म्याद थप्दै मार्च अन्तिममा विमानस्थलको काम सक्ने गरी चिनियाँ ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । तर मुख्य चुनौतीपूर्ण मानिएको रन वे लाइट जडानको काम नै सुरु हुन सकेको छैन ।
‘लाइट आएपछि पनि जडान हुन कम्तीमा एक महिना लाग्नेछ, अहिलेसम्म काम सुरु नै भएको छैन, कहिले लाइट आएर कहिले जडानको काम सकिने हो भन्ने नै अन्योल भएको छ’, अधिकारीले भन्नुभयो ।
थपिएको समयमा पनि तालिका अनुसार सामान आयात र जडानमा ढिलाइ भइरहेको छ । यसले गर्दा मार्च अन्तिममा विमानस्थलको निर्माण सम्पन्न गर्न समस्या भएको आयोजना प्रमुख अधिकारीको भनाइ छ ।
‘अहिले एक दिनको पनि ठूलो ‘भ्यालु’ छ, यस्तो अवस्थामा सामान नआउँदा समस्या भएको छ, के गर्ने भन्ने निधो गर्न सकेका छैनौँ’, उहाँले भन्नुभयो ।
Comments are closed.